१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विभेदमुक्त समाज बनाउन ब्राह्मण, दलित र क्षेत्री एकै जग्गेमा

शुक्रबार गोरखाको भीमसेन थापा गाउँपालिका ५ बगुवामा दलित, ब्राह्मण र नेवार समुदायका कर्ताहरु एकै जग्गेमा मिलेर यज्ञ सम्पन्न गरे। गाउँमै पहिलो पटक फरक÷फरक समुदायका कर्ताहरु लामवद्ध भएर पूजापाठ गरेको दृष्य धेरैले नौलो मानेर अवलोकन गरिरहेका थिए।

बगुवाका हिरामान सुनार पहिलो पटक श्रीमद्भागवत् यज्ञको जग्गेमा बसेर कर्ताको रुपमा काम गरिरहेका थिए। सोही ठाउँका जनकबहादुर श्रेष्ठ र पूर्व एआईजी रिषवदेव भट्टराई पनि कर्ताकै रुपमा सरिक थिए। ‘मैले पहिलो पटक कर्ताको रुपमा काम गरेको हुँ’, सहभागी मध्येका हिरामान सुनारले भने, ‘गुरु दीनबन्धु पोखरेलको अगुवाईमा भएको कार्यक्रममा कर्ता हुन पाउँदा निकै खुसी छु।’

सबै समुदायका मानिस साझा जग्गेमा बसेर पूजापाठ गरेको शुक्रवारको दिन सम्झैँदै उनले भने, ‘२१ औँ शताब्दीमा अहिले पनि जातीय विभेद कायमै छ। यसलाई यस्ता कार्यक्रमले न्यूनीकरण गर्दै जार्नेमा आशावादी छौँ।’ आफूले कहिल्यै फरक समुदायका मानिससँग एकै जग्गेमा बसेर कर्ताको रुपमा पूजापाठ नगरेको उनले बताए।  

स्थानीयको अगुवाइमा शुक्रवार बगुवामा विभेदमुक्त समाज घोषणा गर्न श्रीमद्भागवत् प्रवचनसँगै मन्दिर उद्घाटन कार्यक्रम गरिएको थियो। पण्डित दीनबन्धु पोखरेलले आफू जन्मिएको ठाउँ बगुवाबाट जिल्ला, देश र विश्वभर विभेदमुक्त समाज निर्माणको सन्देश दिन सबै एकै जग्गेमा बसेर पूजापाठ गरिएको उनले बताए। ‘धर्मग्रन्थले, हिन्दूधर्मले विभेद गर्दैन, यो मानिसको सोचले गराएको विभेद हो’, पण्डित पोखरेलले भने।

पुराण वाचन भइरहेको स्थलमा पहिलो पटक पुगेको लामाचौरकी इन्दिरा बिकले बताइन्। ‘अहिलेसम्म म यस्तो कार्यक्रममा गएको थिइनँ् । आज नजिकबाट हेर्न, पूजा गर्न पाएँ। खुसी छु’, उनले भनिन्। यस्तो जागरण अभियान देशभर सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन्।

सोही ठाउँकी पुतली सुनार उमेरले ६५ वर्ष भइन्। उनले अहिलेसम्म सबै जातिका कर्ताहरु एकैठाउँमा बसेर पूजा गरेको देखेकी थिइनन्। ‘म पुराणमा त पहिले पनि जान्थेँ तर एकै ठाउँमा सबै जातजातिका कर्ता एकैठाउँमा बसेको देखेको थिइन्’, उनले भनिन् ‘अहिले यहाँ देख्दा निकै खुसी छु।’ गाउँमा पनि पहिले जस्तो छुवाछुत नभए पनि कहिँकतै महशुस भने हुने गरेको उनले बताइन्। ‘कँही कतै बाँकी छ भने पनि यस्तो अभियानले छुवाछुत हट्छ’ उनले भनिन्।

श्रीमद्भागवत प्रवचन कार्यक्रममा दलित समुदायका, ब्राह्मण, नेवार, जनजाती सबै सरिक भएका थिए। पूजापाठ गर्ने, प्रवचन सुन्ने काममा स्थानीयबासी दिनभर सक्रिय रहे। राजु परियार र बबिता बानियाँ जेरीले जातीय विभेद उन्मुलन गर्न सबै जुट्नुपर्ने खालका चेतनामूलक र रमाईला गीत सुनाए।

कार्यक्रममा सरिक हुन भीसमेन थापा गाउँपालिकाको सबैजसो वडाबाट स्थानीयबासी सरिक भएका थिए। त्यहाँ सहभागी भएका सबै समुदायका मानिससँगै बस्ने, भागवत् सुन्ने, पण्डितहरु पनि सहभागी सँगै बसेर खाना खाने गरिरहेका थिए।

प्रकाशित: २४ मंसिर २०७८ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App