९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विनाशकारी प्रभाव रोक्न दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी अत्यावश्यकः युनिसेफ प्रतिवेदन

दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ।

युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसियामा बालबालिकाका लागि अवसर पुनः उत्पन्न गर्ने’ नामक आज सार्वजनिक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले पारेको असमान प्रभावमाथि प्रकाश पारेको छ। प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवालाई प्रगतिको अवस्थामा फर्काउन नसकेमा कोभिड–१९ महामारीको विनाशकारी प्रभाव दशकौँसम्म रहिरहने बताएको छ। मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदूषणजस्ता जलवायुसम्बन्धी जोखिमले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ।

महामारीभन्दा अघि ठूलो युवा जनसङ्ख्याले विकासलाई थप गति दिएकोले र बालबालिकाको क्षेत्रमा महत्वपूर्ण प्रगति गरेकोले दक्षिण एसिया विश्वको सबैभन्दा द्रुत वृद्धि हुने क्षेत्रमध्ये एक थियो। बितेको २५ वर्षमा बालमृत्युदर आधाभन्दा बढी घटेको छ। साथै पुड्कोपनाबाट पीडित बालबालिकाको सङ्ख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको छ। माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको छ र १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या घटेको छ। त्यसका साथै ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ।

‘हाम्रो क्षेत्रले हालैका दशकमा बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धी अहिले जोखिममा छन्’, दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया–एडजेइले भनिन्, ‘यदि हामी तत्काल ठोस कदम चाल्न असफल भयौँ भने कोभिड–१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकमा महसुस हुनेछ। तर तत्काल कार्य गर्यौँ भने हामीले अवसरको पुनःप्राप्ति मात्र नभई दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौँ।’

प्रतिवेदनले आधारभूत स्वास्थ्य र खोप सेवा पूर्णरूपमा पुनःस्थापना गर्ने र विद्यार्थीलाई उनीहरूले छुटाएका सिकाइ प्राप्त गर्न मद्दत गर्नेजस्ता तत्कालका प्राथमिकता पहिचान गर्दछ। प्रतिवेदनले महामारीका कारण हामीले सिकेका पाठ र यो परिस्थितिले हाम्रा लागि खोलेका अवसरको रूपरेखा पनि प्रदान गर्दछ। यी सिकाइलाई सबै बालबालिकाको हितका लागि प्रयोग गर्न सकिन्छ।

यी सिकाइमा कोभिड–१९ सँग जुध्न विस्तार गरिएको र सुधारिएको कोल्ड चेन र अक्सिजनजस्ता पूर्वाधारमार्फत सुदृढ गरिएको सार्वजनिक स्वास्थ्य प्रणाली समावेश छन्। अन्य अवसरमा मानसिक स्वास्थ्यबारे सार्वजनिकरूपमा छलफल समावेश छन् जसले थप सेवाको आवश्यकतामाथि प्रकाश पार्न र माग बढाउन मद्दत गर्दछ। साथै यो क्षेत्रमा अवस्थित गहिरो डिजिटल दूरीको पहिचान गरेर त्यो खाडललाई पुर्ने अवसरको बढ्दो मान्यतालाई बुझ्न पनि सहयोग गर्दछ।

युनिसेफका अनुसार बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीको लागि पनि तयारी अवस्थामा रहनुपर्छ।

प्रकाशित: २३ मंसिर २०७८ १६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App