जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले पटक पटक कर्णालीको विकासका लागि आवाज उठाए। उनले संसदमा आक्रोश पोखे। कर्णालीमा समस्या पटक पटक राखे। निरन्तर खबरदारी गरे। तर कर्णालीको विकासका लागि राज्य बेखबर झै बन्यो। न सांसद महतले उठाएको आवाजको सम्बोधन हुन सक्यो। नत कर्णालीवासीका समस्या सम्बोधनका लागि कुनै पहल नै थाल्यो। उल्टै विकासका नाममा कनिका छर्ने काम भयो।
संसदमा हरेक प्रकारले आवाज उठाउन नसुनेपछि सांसद महतले जुम्लादेखि पञ्चेबाजा लिएर काठमाडौंमा र्याली निकालिरहेका छन्। गजेन्द्रबहादुरले भने, ‘राज्यको कर्णालीप्रति हेर्ने नजर फेरिएन। राज्य व्यवस्था फेरियो। सरकार फेरियो तर कर्णालीको मुहार फेर्ने व्यवस्था आउन सकेन।’
‘राज्य नामको संयन्त्रले आजसम्म आफै बुझेर कुनै विकास गर्दैन। कर्णालीवासीलाई निकास दिँदैन। त्यसैले कर्णालीवासीले पटक–पटक राज्य खोज्नु परेको छ। राज्यको कान ठटाएर सुनाउनु परेको छ,’ उनले भने।
‘सरकार आफैले बुझेर कर्णालीको माग सम्बोधन गर्ने मनसाय छैन,’ सांसद महतले भने,‘यसपालि पनि राज्यका कान नठटाई नहुने दिन आयो। देशमा बिजुली बलेको एक शताब्दी भइसक्दा समेत कर्णाली अँध्यारै छ। कर्णालीमा उज्यालो पुर्याउन र राम्रो सडक बनाउनको लागि पञ्चेबाजाको साहारा लिनुपर्यो।
उनलाई जुम्लामा बिजुली नियमित र व्यवस्थित गराउन दबाब दिनको लागि काठमाडौंमा पञ्चेबाजा ठटाएर राज्यलाई सुनाउने बाध्यता आइलाग्यो। महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्याली निकालेका हुन। स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित र्याली निकालिएको थियो।
जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न पटक–पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित र्याली गर्नु परेको प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले बताए।
उनले भने, 'जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भएपनि पोल, तार र मिटर पुग्न पुगेको छैन। गाउँ–गाउँमा प्रसारण लाइन विस्तार हुन सकेको छैन।’ कर्णालीको समस्या संसदमा पटक–पटक राख्दापनि सरकारबाट सुनुवाई नहुँदा बाध्यताले सुनाउने कार्यक्रम राख्नुपरेको उनको भनाइ छ।
सजिलै सुन्दैन नेपाल सरकार र विद्युत प्राधिकरणले। अनि सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर,’ उनले भने, ’कर्णालीमा प्रसारण लाइनको विस्तारको बारेमा कसैको ध्यान गइराखेको छैन। यो पञ्चेबाजाले ध्यानाकर्षण गरोस।’
र्यालीमा हामीलाई बत्तीको मिटर देऊ, ट्रान्सफर्मरको व्यवस्था गर, मलाई पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानी त्यसै बग्यो, घर भने अँध्यारो छ, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है’ लगायत लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो।
जुम्लाका सबै बस्तीमा प्रसारण लाइनको विस्तार गर्न र प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।
र्यालीसहित नेपाल विद्युत् प्राधिकरणमा पुगेका जुम्लाका नागरिकले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापनपत्र बुझ्न प्राधिकरणको आँगनबाहिर नै बोलाएका थिए। कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापनपत्र प्राधिकरण भवनबाहिर नै टाँसिएको थियो।
यद्यपि कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको आँगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिबद्धता गरेका थिए। उनले भने,’जिल्लाभरि बिजुली विस्तारका लागि टेन्डर आह्वान गर्न लागिएको छ।’
ज्ञापन पत्रमा ३३ केभीए प्रसारण लाइन निर्माणको काम चाँडो सम्पन्न गर्नुपर्ने र ११ केभीए लाइनमा भएको भोल्टेज उतारचढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ। जुम्लाको टोलीले सडक विभागमा पनि पञ्चेबाजा बजाएर माग पत्र पेस गरेको छ। जुम्लाको सिँजा गाउँपालिका देखि पञ्चेबाजाको टोली काठमाडौँ पुगेको थियो।
प्रकाशित: २२ मंसिर २०७८ १५:१२ बुधबार





