मोरङको उर्लाबारी नगरपालिकाका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाका अभियुक्त कालु, काले तथा किसन भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
मंगलबार मोरङ जिल्ला अदालतले अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले आदेशपछि अग्रवाल धरौटी वापतको रकम जम्मा गरेर छुटेको जानकारी दिए। न्यायाधीश भरत लम्सालको इजलासले धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो।
‘तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अग्रवाललाई धरौटी लिएर तारेखमा छाड्नु,’ आदेशमा भनिएको छ। अग्रवालविरुद्ध मुद्दा दर्ता भएपछि फरार रहेका उनी काठमाडौंबाट पक्राउ परेका हुन्। मोरङ प्रहरीले सोमबार अदालतमा उपस्थित गराएपछि उनीविरुद्धको मुद्दामा मंगलबार थुनछेक बहस भई छाड्ने आदेश भएको हो।
कुस्त सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत पनि नखुलेको पाइएपछि अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा दर्ता गरिएको छ। अदालतले अग्रवाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दालाई लिएर विभागमा उपस्थित हुन पनि आदेश दिएको श्रेस्तेदार राणाले बताए।
न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो। मुद्दामा ७७ जना प्रतिवादी थिए। अहिलेसम्म ५७ जना मात्रै पक्राउ परेका छन् भने २० जना फरार रहेको बताइएको छ।
अदालतले पक्राउ परेकामध्ये ८ जनालाई दोषी ठहर गरेको छ। मुद्दामा प्रतिवादी बनाइएका उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाएका छन्।
प्रकाशित: २१ मंसिर २०७८ १४:१६ मंगलबार