१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

विवाहोत्सवमा ‘सम्धी मिलन’

साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन सोमबार रामसीताको तिलकोत्सव सम्पन्न भएको छ। राम मन्दिरको प्रांगणमा तिलकोत्सवपछि रामसीताका अभिभावकले ‘सम्धी मिलन’ गरेका छन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दाश ‘भार’ लिएर राम मन्दिर पुगेका थिए। जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न लिएर दाससहित श्रद्धालु भक्तजनहरू राम मन्दिरपरिसर पुगेर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए। अयोध्या दरबारको प्रतिनिधित्व जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए। दासले गिरीलाई अंकमाल गर्दै उचालेपछि सहभागी श्रद्धालु भक्तजनले ताली बजाएर स्वागत गरेका थिए।

विवाहपञ्चमीको पाँचौं दिन मंगलबार गंगासागर पोखरीमा जानकीको मटकोर हुँदै छ। बुधबार विवाहपञ्चमीको मुख्य दिन अर्थात् जानकी मन्दिरमा रामसीताको वैवाहिक कार्यक्रम हुनेछ। बिहीबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत् रूपमा सम्पन्न हुनेछ।

मास्क अनिवार्य

विवाह पञ्चमी महोत्सवको तिलकोत्सव कार्यक्रममा सहभागी भएकाहरूको नाक र मुख मास्कले छोपिएको थियो। अरू दिनको तुलनामा सोमबार मास्क लगाउनेहरूको संख्या बढी थियो। कारण जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा सहभागी हुन आउनेहरूलाई मास्क अनिवार्य गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार कोरोना संक्रमण फैलिन नदिन मास्क अनिवार्य गरिएको हो। भारतसहित नेपालका विभिन्न स्थानबाट हजारौं श्रद्धालुहरू एकै ठाउँ भेला हुने भएकाले मास्क अनिवार्य गरिएको उनले बताए।

महोत्सवमा सहभागी हुन आएका श्रद्धालुलाई करिब चार लाख मास्क वितरण गर्ने तयारी छ। नेपाल र भारतमा कारोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसमेत भेटिएकाले सजगता अपनाइएको प्रजिअ बास्तोलाले बताए। ‘सरकारले अहिलेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छैन। 

त्यसैले भारतीय श्रद्धालु पनि विवाह पञ्चमीमा आउँछन्,’ उनले नागरिकसँग भने, ‘सीमा नाकामै मास्क नहुने श्रद्धालुलाई सुरक्षाकर्मीले मास्क उपलब्ध गराउने बन्दोबस्त मिलाएका छौं।’ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाले निःशुल्क मास्क वितरण गर्दै छन्। विवाहपञ्चमी महोत्सवमा सुरक्षार्थ करिब तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ बास्तोलाले बताए।

बाहिर जिल्लाबाट १५ सय सुरक्षाकर्मी मगाएको र धनुषामै रहेका करिब १२ सय सुरक्षाकर्मी पनि परिचालित छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी करिब तीन हजार प्रहरी परिचालन भएको उनले बताए।

प्रकाशित: २१ मंसिर २०७८ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App