१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेश: राजधानी सार्न थालेको भन्दै प्राधिकरणका सिइओलाई ज्यान मार्ने धम्की

सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जर मार्फत पठाइएको म्यासेजमा राजधानीको काम तुरुन्त रोक्न धम्की दिइएको छ।

अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार बिकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको छ। सरकारले स्थायी राजधानी दाङमा भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरण स्थापना गरेको छ। यो प्राधिकरणले अहिले स्थायी राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ।

स्थायी राजधानीमा भौतिक पूर्वाधारको कामलाई निरन्तर जारी राखेर राजधानी सार्न थालेको भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत घिमिरेलाई ज्यान मार्ने धम्की दिईएको हो। सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जर मार्फत पठाइएको म्यासेजमा राजधानीको काम तुरुन्त रोक्न धम्की दिइएको छ। ‘राजधानी सार्ने नै हो त? काम छैन पागल जस्तै गरेको छ,’ घिमिरेलाई पठाइएको म्यासेजमा उल्लेख छ, ‘अर्थले बजेट रोकिसक्यो, ठेकेदार काम रोक्नत यार छ, सिईओलाई मर्न मन छ हो?’

उक्त म्यासेजमा अख्तियार लगाएर या ज्यान मारेर सिध्याउने धम्की दिइएको छ। ‘कि अख्तियार लगाएर सक्छौँ, कि खुकुरी,’ म्यासेजमा उल्लेख छ, ‘अब तेरो दिन सकियो।’ साथै ज्यान बचाउनका लागि राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम तत्काल रोक्न पनि धम्की दिइएको छ। साथै परिवारका अन्य सदस्यहरुलाई समेत अप्ठ्यारो पर्ने भन्दै म्यासेजमा लेखिएको छ। ‘बाँच्न मन छ र परिवारको माया छ भने राधजानीको काम तुरून्त बन्द गर,’ म्यासेजमा लेखिएको छ, ‘नत्र बुटवल आएपछि दाङ फर्कंन पाउँदैनस्।’

आफ्नो ४ सय करोड रुपैयाँ लगानी सिध्याउन खोजेको भन्दै उक्त म्यासेजमा सम्झाउँदा पनि नमानेको उल्लेख गरिएको छ।

राधजानीको काम सुस्त गर्न सम्झाएको बिषयमा घिमिरेले आफूलाई अप्रत्यक्ष रुपमा त्यस्ता खालका सुझावहरु आएको सुनाए। ‘कुरा गर्दाखेरी चाहिँ मेरै हितका लागि भनेको जसरी आउथे,अख्तियारमा पर्नु होला, बिचार गरेर अगाडि बढ्नुस् भन्ने खालका सुझावहरु आउथे,’ घिमिरेले भने, ‘तर धम्कीकै रुपमा मलाई यसरी कसैले भनेको चाहिँ थिएन।’

घिमिरेका अनुसार दाङमा राजधानी ल्याउन वा आउन नदिने नियत बोकेकाहरुबाटै आफूलाई धम्की आएको आशंका गरेका छन्। ‘राजधानीसंग हरेक व्यक्तिका स्वार्थ जोडिएका हुन सक्छन्,’ उनले भने, ‘बुटवलबाट कसैले राजधानी नगए हुन्थ्यो भनेका पनि होलान्, अनि कसैले दाङमा नआए पनि हुन्थ्यो भनेका पनि होलान्, त्यसैले राजधानी आउन नदिने वा ल्याउन नदिनेहरुकै सञ्जालबाट यो खालको धम्की आएको हुनुपर्छ।’

आफूमाथि असुरक्षा भएको भन्दै प्राधिकरणका सिईओ घिमिरेले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छन्। ‘मलाई राम्रोसंग चिनेको र राजधानीको बिषयमा चासो र सरोकार राख्ने मान्छेबाट नै यो खालको धम्की आएको हो,’ घिमिरले भने, ‘मैले धम्की दिने व्यक्ति पत्ता लगाउनका लागि सिडिओ साबसंग अनुरोध गरिसकेको छु।’

यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेमाथि आएको धम्कीबारे अनुसन्धन सुरु भैसकेको बताउँछन्। ‘मैले जानकारी पाउनासाथ प्रहरीलाई अनुसन्धान गर्न भनिसकेको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘प्रहरीले अनुसन्धानको काम अगाडि बढाईसकेको छ।’

 

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा सर्‍याे स्वास्थ्य मन्त्रालय

 

प्रकाशित: १७ मंसिर २०७८ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App