७ वैशाख २०८१ शुक्रबार
समाज

लिमचुङबुङमा प्रहरी भवन अन्तिम चरणमा

जिल्लाको विकट पहाडी गाउँपालिका लिमचुङबुङमा निर्माणाधीन इलाका प्रहरी भवन अन्तिम चरणमा पुगेको छ। वडा नं. ३ को बाराहास्थित गाउँपालिका केन्द्रमा झण्डै अढाई वर्षअघि सुरु भवनको हालसम्म ९० प्रतिशत हाराहारी संरचना बनिसकेको छ।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको रेखदेखमा निर्माणाधीन अढाई तले १२ कोठे भवनको भुई तलामा ८ र पहिलो तल्लामा ४ कोठा छन्। भुई तलालाई प्रशासनिक, थुनुवा कक्ष र व्यारेक प्रयोजनमा उपयोग गरिनेछ भने पहिलो तल्लामा कार्यालय प्रमुखको आवास प्रयोजनमा उपयोग हुनेछ।

मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक १ करोड ५१ लाख ८७ हजार २ सय २८ रुपैयाँमा भवन बनाउने जिम्मा भुस्नाम्छा निर्माण सेवा गाईघाटले लिएको छ। ०७७ असार ५ गते सम्झौता भएको भवनको हालसम्म संरचना र प्लास्टर सकिइसकेको छ भने वाईरिङ, प्लम्बिङ, रेलिङ, झ्यालढोका हाल्न र रंगरोगन गर्न बाँकी छ। त्यस्तै कम्पाउण्ड वाल, घेराबेरा र प्रवेशद्वार(गेट) बनाउने काम पनि बाँकी छ।

दुई वर्षभित्र अर्थात् ०७८ असार पहिलो साताभित्र निर्माण सक्ने सम्झौता भए पनि नसकिएपछि ६ महिना म्याद थपेर काम सुचारु गरिएको निर्माण कम्पनी प्रतिनिधि हेम दाहालले बताए। उनका अनुसार गत असार ५ गतेभित्र भवन सक्नुपर्ने भवन कोभिडका कारण ढिला भएकाले आउँदो पुस मसान्तसम्म ६ महिनाको म्याद थप गएिको छ। निर्धारित समयभित्रै काम सक्ने योजना भए पनि कोभिड लकडाउनले म्याद थप्नुपर्ने अवस्था आएको दाहालले बताए।

दाहालले झ्याल, ढोका र ग्रिल सबै तयारी भइसकेको छ भने जडान गर्न मात्र बाँकी छ। दसैं, तिहार र छठले गर्दा पनि केही समय काम रोकिन पुगेको तर, अब भटाभट झ्याल, ढोका, गृह हाल्ने र कम्पाउण्ड वाल निर्माण गेर गेट लगाउने काम हुने छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले समयमा भवन नसकिनुमा कोभिड कहर मुख्य बाधक भएको बताए।

गाउँपालिकाका भौतिक पूर्वाधार समिति संयोजक तथा २ नं. वडाध्यक्ष भविन्द्र राईले भवन बनाउन जग्गासम्म ५ सय मिटर सडक नयाँ ट्र्याक खन्नु परेको बताए। भवन निर्माणस्थल पुग्न बाराहा–ताम्लिछा खण्डको सडकदेखि ५ सय मिटर माथिसम्म नयाँ कच्ची सडक गाउँपालिकाले खनिदिएको उनले बताए। गाउँमा प्रहरी भवन अत्यावश्यक भएको तर, भनेजस्तो जमिन नपाएपछि गाउँपालिको जमिन किनेर प्रहरी भवन निर्माण भईरहेको वडाध्यक्ष राईले बताए।

इप्रका लिमचुङबुङ प्रमुख सहायक प्रहरी निरीक्षक (असई) बाबुराम थापाले भवन अभावमा प्रहरी जनशक्तिलाई बस्न, कार्यालय सञ्चालन गर्न र सेवाप्रवाहमा सास्ती भएको बताए। भवन नभएका कारण इप्रकाले स्थानीयको २ कोठे टहरा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थापाले बताए। उनका अनुसार भवन नहुँदा सेवाग्राहीलाई भनेजस्तो सेवाप्रवाह गर्न अप्ठेरो हुनुका साथै प्रहरीलाई खान बस्नलाई धेरै असुविधा छ। २ कोठामध्ये एउटा थुनुवा कक्ष र अर्कोमा कार्यालय र प्रहरी सुत्ने व्यारेक बनाइएको असई थापाले बताए।

प्रकाशित: १७ मंसिर २०७८ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App