४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नाइकेको आतंकबाट कारागारमा रहेकाहरु पीडित बन्दै

रौतहटको सदरमुकाम गौरस्थित कारागारका कैदीहरु जेलका नाइकेको दमनबाट पीडित बनेको पाइएको छ। विभिन्न आरोपमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरु चौकीदार तथा नाइकेहरुको शोषण र दमनमा परेको गुनासो बाहिर आउन थालेको छ।

गत मंसिर १ का दिन कारागारमा रहेका रौतहटको देवाही गोनाही नगरपालिका ७ का २४ वर्षीय लडाइ साह त्यहाँको शौचालयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि जेलभित्रका कैदीबन्दीको बारेमा चासो बढ्दै जाँदा नाइके तथा चौकीदारहरुले कैदीबन्दीहरु प्रति व्यापक अन्याय गरिरहेको बुझिन थालेको छ।

कारागारभित्र चौकीदार, मुख्य नाइके तथा भाइ नाइकेहरुले आफ्नो साम्राज्य नै चलाउने गरेको र तिनीहरुको आतंकले कैदीबन्दीहरु थर्कमान हुने गरेको बताउँछन्। कारागारका बन्दीहरुलाई चरम यातना दिने, जथाभावी गाली र अपशब्द प्रयोग गर्ने, आर्थिक शोषण गर्ने र अन्य किसिमका सजाय दिने काम नाइकेहरुबाट हुन थालेको देखिन्छ।

कारागारमा रहेकाहरुले मुख्य गरी विक्की सिंहको आतंकले सबै पीडित रहेको आरोप लगाउने गरेका छन्। बलात्कार गरी हत्या गरेको आरोपमा कैदी जीवन बिताइरहेका सिंहको आदेश नमानेमा कैदीबन्दीले ठूलो यातना सहनु परेको कैदीबन्दीहरुको आफन्तलाई बताउने गरेका छन्।

कारागारको शौचालयभित्र आत्महत्या गरेको भनिएका साहका आफन्तहरुले हत्या गरेर झुन्ड्याएको आरोप लगाउँदै आएका छन्। घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तहरुले आन्दोलन समेत गरेका छन्।

जेल प्रशासन र जिल्ला प्रशासन कार्यालय रौतहटले जेलभित्रका कैदी बन्दीहरुको अवस्थाबारे यथार्थ बुझेर समस्या समाधान गरिनुपर्ने देखिएको छ।

प्रकाशित: १६ मंसिर २०७८ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App