८ वैशाख २०८१ शनिबार
समाज

मनाङमा खसेको पहिरोबारे अध्ययन सुरु

गत असारमा मनाङमा भीषण आकारका पहिरो झरेका थिए

गत असारमा मनाङमा आएको पहिरोले क्षति गरेको सडक। फाइल तस्बिरः नागरिक

असार पहिलो साताको बाढीपहिरोको वितण्डापछि ध्वस्त भएको हिमाली जिल्ला मनाङका ठुला आकारका पहिरोको अध्ययन थालिएको छ। पहिरो जानुको कारण र आगामि दिनमा थप पहिरो जान नदिन के गर्न सकिन्छ भनेर अध्ययन गर्न थालिएको हो। पहिरोको रोकथामको उपाय पहिल्याउने प्रयास पनि अध्ययन गरिने प्राविधिकले बताएका छन्।  

पहिरोले मुख्यगरि मनाङ जोड्ने एकमात्र मोटरबाटो ध्वस्त भएपछि महिनौं आउजाउ रोकिएको थियो। स्थलमार्ग रोकिँदा मनाङमा खाद्यान्न र औषधि आपूर्तिमा समेत समस्या भएको थियो। डुम्रे–बेसीसहर–चामे सडक आयोजनाले अहिले परामर्शदाता खटाएर ठुला आकारका पहिरोको विशेषज्ञमार्फत विशेष अध्ययन गराउन थालेको हो।

डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तका अनुसार सडक खण्डमा पर्ने ठुला आकारका पहिरोको अध्ययन गराउन थालिएको हो। सानातिना पहिरोको खासै अध्ययन आवश्यक नपर्ने भएपनि ठुला पहिरोको अध्ययन जरुरी रहेको उनले बताए।  ‘ठुला पहिरो आउनुको कारण पहिल्याउन जरुरी छ। किनकी हरेक वर्ष पहिरो जाने अवस्थामा त्यहाँ कसरी पूर्वाधार बनाउन सकिन्छ भनेर अध्ययन भएमा दीर्घकालिन समाधान हुनेछ,’ पन्तले भने, ‘हचुवाका भरमा सडकका पूर्वाधार बनाउनु हुँदैन। लामो समय टिकाउ हुने गरि सडक बनाउनका लागि पहिरोको अध्ययन गर्न जरुरी छ।’

उनका अनुसार स–साना पहिरोको सडक आयोजना आफैले अध्ययन गर्नेछ। तर, ठुला पहिरोको अध्ययन गर्ने क्षमता आयोजनासँग नभएपछि परामर्शदाता नै छनोट गरिएको छ। पन्तका अनुसार यो सडक खण्डमा सबैभन्दा ठुलो पहिरो कोतो, बगरछाप र सिरनातालमा झरेको छ। त्यस्तै लम्जुङ प्रवेश नाकामा पर्ने उदीपुरमा पनि भीषण आकारको पहिरो झरेको छ । ती पहिरोको अध्ययन जरुरी रहेको उनले बताए।  

‘भीषण आकारका पहिरो झर्नुको कारण पहिल्याउनु पर्नेहुन्छ। त्यो क्षमता हामीले राख्दैनौ। पहिरो झर्नुको मुख्य कारण पहिल्याउन भूगोल नै अध्ययन गर्न थालिएको हो,’ पन्तले भने, ‘पहिरो किन गयो, त्यसको कारण पहिल्याउने प्रयास हुनेछ। आगामि दिनमा पहिरो झर्न नदिन के गर्न सकिन्छ भनेर पनि परामर्शदाताले उपाय निकाल्नेछ । त्यसबाहेक रोकथामको उपाय पनि पहिल्याइनेछ।’ भीषण वर्षाकै कारण हो वा भौगोलिक अवस्था कमजोर भएर पहिरो झरेको भन्ने पहिल्याउन अध्ययन जरुरी रहेको उनले बताए।

‘दीर्घकालिन सोच राखेर अध्ययन गर्न थालिएको हो। अध्ययन पछि पहिरो क्षेत्रमा सडकका पूर्वाधार बनाउनका लागि काम अघि बढ्ने उनले बताए । ‘तत्कालै बलिया र ठुला आकारका संरचना त्यहाँ बनाउन मिल्दैन। अहिले बनाएर अर्काे वर्ष बग्ने अवस्था आउनु हुँदैन । त्यो थाहा पाउन पनि अध्ययन गर्र्नैपर्छ,’ उनले भने।  

सडकको पहिरोको अध्ययन गर्न न्यू डाइमेन्सन इन्जिनियरिङ सर्भिस लगायतका परामर्शदाता छनोटमा परेमा छन्। न्यू डायमेन्सनका कार्यकारी प्रमुख सञ्जीव पाण्डेका अनुसार बेसीसहर आसपास र चामेसम्मका मुख्य पहिरोको अध्ययन गर्नका लागि विज्ञसहितको टिम परिचान भएको छ। उनका अनुसार त्यो खण्डमा झन्डै डेढदर्जन ठाउँमा पहिरो झरेका छन्। ती मध्ये केही निकै नै भीषण आकारका छन्। अहिले विशेषज्ञ टोली खटिएर ती पहिरो झर्नुको कारणबारे अध्ययन भईरहेको छ। भूगर्वविद, भूक्षय विज्ञ, इन्जिनियरिङ जिओलोजिष्ट, जलश्रोतविज्ञ लगायतका टिममा छन्।  

‘के कारणले पहिरो खसेको हो। भिरालो नै भएर हो वा वर्षाका कारण वा भौगोलिक बनोट नै कमजोर भएर त्यो अवस्था आएको भन्ने थाहा पाउन अध्ययन गर्नुपर्छ। त्यो अध्ययन अब हुँदैछ,’ पाण्डेले भने, ‘अहिले पहिरो झरेको क्षेत्रलाई भविश्यमा कसरी जोगाउन सकिन्छ भनेर पनि अध्ययन आवश्यक छ। किनकी भविश्यमा पनि यस्तै आकारको पहिरो जाने अवस्था भएमा रोकथामको विधि फरक हुनसक्छ। पहिरो जान नदिन के गर्ने र त्यो ठाउँलाई कसरी बचाउने भनेर पनि अध्ययन हुनेछ।’  

उनका अनुसार ५० मिटर गहिराईसम्मको अवस्था पनि पहिल्याउने प्रयास हुनेछ। माटोको भारवहन क्षमता कमजोर भएर हो वा भीषण वर्षाकै कारण पहिरो झरेको भन्ने पत्ता लगाउन सकियो भने बल्ल भविश्यमा विकास निर्माण गर्न सहज हुने उनले बताए। ‘अर्काेवर्ष बाढी आउँदा त्यो बाटो थप क्षति नहोस भनेर सचेत हुनुपर्नेछ। किनकी सरकारले लगानी गर्दा पनि त्यही अनुसार गर्नेछ,’ उनले भने, ‘बालुवामा पानी हालेजस्तो अहिले लगानी गर्ने र अर्काे वर्ष बाढीमा बग्नेगरि क्षति हुन दिनु भएन।’  

आगामि दिनमा पहिरो झर्न नदिनका लागि अपनाउनुपर्ने रोकथामका विधि पनि यही अध्यनय टिमले थाहा पाउने उनले बताए। ‘कुन तरिकाले पहिरो रोक्न सकिन्छ भनेर पनि अध्ययन हुनेछ। तत्काललाई र दीर्घकालिन क्षति हुन नदिनका उपाय पनि पहिल्याउनेछौ,’ उनले भने।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार असारको बाढी पहिरोले धेरै नै क्षति पु¥याएकोले अध्ययन गर्न जरुरी रहेको छ। ‘मनाङ प्रवेश गर्ने नाका बढेमानका पहिरो झरेका छन्। ती पहिरोको अध्ययन जरुरी छ,’ आचार्यले भने, ‘पहिरोका कारण पहिल्याउन सकेमा आगामि दिनमा थप क्षति नहुन सक्छ।’  

उनका अनुसार कतिपय ठाउँमा पहिरोको कारणले बस्ती नै जोखिममा छन्। ती बस्तीलाई पहिरोका कारणले भविश्यमा असर पर्ने की नपर्ने भनेर पनि अध्ययन जरुरी रहेको उनले बताए। केहीवर्ष अघि बगरछापमा पहिरो जाँदा त्यहाँको बस्ती दानाक्यूमा सारिएको थियो। यस्तै अवस्था अब आउने देखिएको उनले बताए। ‘यहाँ पहिरो झरेर नदी थुनिने त्रास छ। वर्षामा पनि यहाँ पहिरो झरिरहन्छ। यहाँ सुख्खा अवस्थामा पनि पहिरो झर्छ, त्यही भएर पनि अध्ययन आवश्यक छ,’ आचार्यले भने।  

प्रकाशित: १३ मंसिर २०७८ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App