१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राहत पर्खंदै किसानः सरकारले घोषणा गरेको राहत महिना पुगिसक्दा पनि नआउँदा पीडित निराश

कात्तिक पहिलो साता अविरल वर्षाका कारण बालीनालीमा क्षति बेहोरेका किसान अहिले सरकारी राहतको पर्खाइमा छन्। बेमौसमी वर्षाले खाद्यान्न, तेलहन, तरकारी तथा फलफूल बालीमा क्षति बेहोरेको किसान एक महिना बितिसक्दा पनि राहत नपाउँदा निराश बनेका छन्।

धान काटेपछिको अविरल वर्षाले काम नलाग्ने भएपछि यसपालि मर्का परेको बताउँदै मसुरियाका गंगाराम चौधरीले भने, ‘धान खेतमै भिजेपछि बेच्न मूल्य नपाउँदा रोपाइँ गर्दाको लागत पनि उठेन।’ घरमा खानका लागि भण्डारण गरिने धान पनि भिजेपछि यसपालि के खाने भन्ने चिन्तासमेत किसानमा थपिएको छ। उनले थपे, ‘खेतमा धान भिजेपछि पीडित बनेका हामीलाई सरकारले राहत दिने भन्ने त सुन्यौं तर महिना दिन बितिसक्दा पनि त्यो राहत पाउन सकिएको छैन।

राहतको पैसा आइदिएको भए मलबिउ किन्दाको ऋण त तिर्न सकिन्थ्यो।’ खेतमा काटेको धान वर्षाले भिजेपछि मलबिउको खर्च, रोपाहारको ज्याला तथा सिँचाइका लागि पम्पसेटमा हालेको डिजेल र पम्पसेटको भाडासमेत नउठेको उनको गुनासो छ।

अर्का किसान रोहित चौधरीको गुनासो पनि यस्तै छ। ‘रोपाइँ गर्दा धेरै खर्च हुन्छ,’ रोहितले भने,‘ धान खेतमै भिजेपछि यसपालि त्यो खर्चसमेत उठेन ।’ खर्च नउठे पनि सरकारले राहत दिने भनेपछि खुसी भएको बताउँदै उनले भने, ‘सरकारले राहत दिने भनेको थियो, अहिलेसम्म दिएको छैन, सरकारको बाटो हेर्दै बसेका छौं।

कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिमका किसानको खेतबारीमा लगाइएका नगदे तथा खाद्यान्न बालीमा क्षति पुर्‍याएको थियो। बर्खे बाली भित्र्याउन लाग्दा भएको वर्षाले खेतमै धान भिजाएको मात्रै होइन, कतैकतै त बाढीले बगाएको पनि थियो। दसैंअघि धान काटेर खेतमा सुकाएका किसानको धानबाली भिजेर काम नलाग्ने अवस्थामा पुगेको थियो।

खेतमा छरिएको तोरी तथा तरकारीमा पनि क्षति पुगेको थियो। खेतबारीमा रोपिएका तथा भित्र्याउन ठिक्क पारिएका बाली वर्षाले पूरै नष्ट पारिदिएको बर्दगोरिया गाउँपालिका–५ छराहीका किसान जितराम डगौरा थारूले बताए।

उनले भने,‘काटेर मुठा पार्न राखिएको धान सबै वर्षा र बाढीले बगाइदिएपछि वर्षभरि के खाने भन्ने चिन्ता थपिएका बेला सरकारले राहत दिउँला भनेपछि झिनो आशा पलाएको थियो। एक महिना बितिसक्दा पनि सरकारले दिने राहतको अत्तोपत्तो छैन। हामी राहतको पर्खामा छौं।’

संघीय सरकारले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिने घोषणा गरे पनि अहिलेसम्म सम्बन्धित जिल्लामा राहत नआएको जानकारी दिँदै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी गोकुलप्रसाद बोहराले भने,‘संघीय सरकारले घोषणा गरेको राहत सम्बन्धित जिल्ला प्रशासनमार्फत नै आउने हो तर अहिलेसम्म आइपुगेको छैन ।’ उनले राहत आउन अझै केही समय लाग्ने बताए। सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले पठाएको तथ्यांककै आधारमा राहत आउने उनले बताए।

धानबाहेक दलहन,तेलहन, तरकारी र फलफूल खेतीमा भएको क्षतिबापत सुदूरपश्चिम प्रदेश सरकार कृषि मन्त्रालयले राहत दिने जानकारी दिँदै प्रवक्ता बोहराले भने, ‘वर्षालगत्तै सुदूरपश्चिम प्रदेश सरकारले राहत कोषमा २५ करोड रूपैयाँ जम्मा गरेको छ।

त्यही कोषबाट हामीले धानबाहेकको कृषि उपजमा क्षति पुगेका किसानलाई राहत दिनेछौं ।’ कृषि उपजमा भएको क्षतिको विवरण सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रलाई पठाउन भनेको बताउँदै उनले भने,‘प्राप्त विवरणका आधारमा हामीले सम्बन्धित ज्ञान केन्द्रलाई राहत रकम पठाउनेछौं ।’ कात्तिक पहिलो साता भएको वर्षाले सुदूरपश्चिममा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको थियो।

प्रदेशअन्तर्गत स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्यांकअनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका ८ जिल्लामा ६ अर्ब ३७ करोड रूपैयाँबराबरको धान बाली क्षति भएको प्रदेश कृषि निर्देशनालय,दिपायलका प्रमुख यज्ञराज जोशीले बताए। उनले भने, ‘स्थानीय तहका कृषि शाखाले दिएको तथ्यांकले नै सुदूरपश्चिममा ठूलो मात्रामा धान खेतीमा क्षति पुगेको देखिन्छ।’

वर्षाले धानबालीमा जत्तिकै तरकारी, दलहन, तेलहन र फलफूलमा पनि उत्तिकै क्षति पुर्‍याएको थियो। वर्षाले २ हजार ५ सय १ हेक्टर क्षेत्रफलमा लगाइएको आलु, ४ हजार ९ सय हेक्टरमा लगाइएको तोरी, २ हजार ७८ हेक्टरमा लगाइएको केरा, २ हजार ४ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी र ९ सय ९९ हेक्टर क्षेत्रफलमा लगाइएको कोदोमा क्षति पुर्‍याएको तथ्यांक छ।

प्रकाशित: १० मंसिर २०७८ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App