२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२ करोड बराबरका तस्करीका सामान बरामद

फाइल तस्बिर

भारतसँग सीमा जोडिएको प्रदेश १ को विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले चोरी तस्करी गरी ल्याइएका सामान ठूलो परिमाणमा बरामद गरेको छ। सशस्त्र प्रहरीले २ महिनामा २ करोड मूल्य बराबरको तस्करीका सामान बरामद गरेको जनाएको छ।

खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरुले भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रुपमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सूर्तिलगायतका वस्तु ओसारपसार हुने गरेको छ। असोज र कात्तिक महिनामा तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले १ करोड ९८ लाख ३८ हजार ८ सय ३४ रूपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न र सूर्तिजन्य पदार्थ बरामद गरेको हो। सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार चोरी तस्करीका सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको छ।

इलामबाट २६ लाख ६२ हजार ४ सय १०, झापाबाट ७७ लाख ४४ हजार ७ सय ५१, मोरङबाट ३४ लाख ८६ हजार ९ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद गरिएको डिआइजी गिरीले जानकारी दिए। १ नम्बर बराह बाहिनी इटहरीबाट खटिएको टोलीले ४६ लाख २ हजार ६ सय २८ रूपैयाँ बराबरको तस्करीका सामग्री नियन्त्रणमा लिएको छ।

त्यसैगरी, सशस्त्रले लागूऔषध तथा प्रतिबन्धित औषधिसमेत नियन्त्रणमा लिएको छ। १ सय ९१ किलोग्राम गाँजा, १६ ग्राम ३ मिलिग्राम ब्राउन सुगर, ४ सय ९२ ट्याब्लेट नाइट्रोजेपाम, ४२ बोतल इस्कुफ कफ सिरप, ९५ एम्पुल लुपिजेसिक, १८ एम्पुल डाइजापाम, १८ एम्पुल फेनारगन, १० पत्ता नाइट्रोसन, ४१ एम्पुल एभिल, १ सय ५९ ट्याब्लेट स्पास्मोप्रोक्सिभन र १३ पिस ट्रामाडोल बरामद गरेको छ।

४ इन्चको हात्तीको दारा, २ वटा अजिंगरको उद्धार गरेर वन कार्यालयमा बुझाइएको छ। मोरङबाट एउटा कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ। झापाबाट २ लाख ९४ हजार ५ सय ७४ रूपैयाँ बराबरको ६१.९२ क्युफिट तस्करी काठ र काठ तस्करीमा प्रयोग गरिएको ६ लाख २५ हजार मूल्य बराबरको एउटा ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

डिआइजी गिरीका अनुसार आपराधिक क्रियाकलाप, लागूऔषध ओसारपसार, चोरी–तस्करीलगायतका गैह्रकानुनी क्रियाकलापलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले सीमामा कडाइका साथ काम गरी रहेको छ।

प्रकाशित: ७ मंसिर २०७८ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App