४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पौँदीमा न्वागी पर्व सुरु

बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आजदेखि न्वागी खाने पर्व सुरु भएको छ। वर्षेनी धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइने गरिन्छ। नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन रहि आएको छ। ज्योतिषले निकालेको शुभमूर्हत अनुसार बिहान ९ः४० बजे उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत भएको हो। शुभसाइत आज परे पनि दुई÷तीनसम्मै न्वागी खाने परम्परा रहेको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले बताउएका छन्।

उनका अनुसार गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुने गर्दछ। कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको मानिन्छ। 'यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो', अध्यक्ष घिमिरेले भने, “पौँदी क्षेत्रमा धानखेती धेरै हुने भएकाले तत्कालीन राजा/रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ।'

स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए। छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ। पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन्। आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन रहेको छ। पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ। धानखेत नभएकाले पनि न्वागी खाएर पर्व मनाने गरेका छन्।

न्वागी पर्वकै अवसर पारेर आजैदेखि बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा परम्परागत न्वागी मेला लाग्दैछ । बुधबारसम्म चल्ने मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। गत वर्ष कोभिड–१९ का कारण रोकिएको मेलालाई यसपालिदेखि निरन्तरता दिइएको समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए। केहि वर्षअगाडिसम्म त्यस क्षेत्रकै ठूलो मेलाका रूपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो। पछिल्लो समय न्वागी मेलाको स्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझै पनि मौलिकता जोगाउन लागिपरेका छन्।  

मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ। मेलामा गाउँपालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि राखिएको छ। रासस

प्रकाशित: ५ मंसिर २०७८ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App