coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निकुञ्जले अह्राएको काम गर्दा मजदुरलाई उल्टै जरिवाना

पछिल्लो समय बाघको पर्याय भनेर चिनिएको बर्दिया निकुञ्जभित्र काम गर्न ज्यानको बाजी थाप्नु पर्छ। हिंस्रक वन्यजन्तुसँग बचेर निकुञ्जभित्र काम गर्ने बाध्यतामा विपन्न वर्ग पर्छन्। निकुञ्ज प्रशासनले मजदुरलाई अह्राएरको काम गराएको बापतको भुक्तानी नदिएर उल्टै जरिवाना तिराएर धम्क्याएको खुलासा भएको छ। निकुञ्ज प्रशासनले अह्राएर काम गरेका ११ जना मजदुरलाई झुक्काएर निकुन्जले जरिवाना तिराएको तथ्य बाहिर आएको छ।

नियमित प्रक्रिया अनुसार बर्दिया राष्ट्रिय निकुञ्जभित्र विभिन्न काम(झाडी सफाई, सडक मर्मत) गर्न  स्थानीय कामदारलाई प्रयोग गरिन्छ। निकुञ्जभित्रको काम गर्ने क्रममा ठाकुरबाबा नगरपालिका वडा नं.६ का बकुवा गाउँका थारु समुदायका व्यक्तिहरुले २०७७ मा निकुञ्जमा काम गर्ने अवसर पाएका थिए।

‘रात दिन लगाएर काम सम्पन्न गरेर फर्किँदा काममा लगाउने रेञ्जर पुष्प श्रेष्ठ सरुवा भयो। तर तिनै मजदुरलाई कर्मचारीले हामीले काम लगाएको होइन हामी पैसा दिन सक्दैनौं’, भनेर उम्किएको नाम नखोल्ने शर्तमा एक मजदुरले बताए।

‘निकुञ्जभित्र बाघ, भालु, हात्ती, गैंडाको जोखिम मोलेर काम गरेको ज्याला नपाएपछि निरास भयौ’, उनले भने, ‘सोही वर्षको मंसिरको महिनामा बबई गुठीमा काम गर्नका लागि निकुञ्जले उनीहरु मध्येकै ११ जना कामदारलाई पठायो।’

पुरानो ज्यालासमेत पाउने आश्वासन पाएका कामदारहरु बबई गुठीमा बसेर काम गर्दै थिए। यतिकैमा निकुञ्जका सहायक वार्डेन र इञ्जिनियरले फोन गरेर निकुञ्जभित्र पर्ने रातोमाटे खोलामा बाँध बाँधेर कुलोमा पानी बगाई पोखरीसम्म पुर्याउने काम गर्नु भन्ने आदेश दिएको उनको भनाइ छ। बबई गुठीबाट रातोमाटे पोष्टमा गएर दुइ दिन ११ जना मानिसले ढुंगा, माटो, स्याउला बोकेर बाँध बनाई खोलाको पानी कुलोमा हाली बगाएर पोखरीसम्म पुर्याइ उनीहरु ठाकुरद्वारा फर्किएपछि ज्यालाको बदलामा जरिवाना तिराएको उनले दुखेसो गरे।  

जब ठाकुरद्वारा हेडक्वार्टर पुगेर कामको प्रगति बताउँदै गर्दा  उनीहरुलाई उल्टो आपत आइलागेको हो। रातोमाटे खोलामा बाँध बाँधी खोलाको पानी सुकाएर कुलोमा पठाएका कारण खोलाको तल्लो भागमा पानी सुक्न गएर माछा मरेको हुँदा कारबाही परेको मजदुर बताउँछन्।

दैनिक पाँच सय रुपैयाँ ज्याला पाउने सर्तमा काम गर्न गएका जगतराम थारु गरी ११ जनालाई जनही रु. २ हजार पाँच सय जरीवाना तिर्नुपर्ने आदेश सुनाइयो। ‘न कुनै बयान लिइयो, न कुनै सोधपुछ गरियो, न मुद्धा चलाइयो, जनही रु. २ हजार ५ सय तिर्नुपर्ने भनी तोक आदेश गरेर जरिवाना तिराइयो’, उनले भने, ‘हाम्रो गरीबीको फाइदा उठाउँदै पसिनाको पैसा  निकुञ्ज प्रशासनले लुट्यो।’

निकुञ्जले नै लगाए अह्राएको काम गर्दा ज्याला पाउनु त कता हो कता उल्टो जरिवाना तिर्न बाध्य कामदारहरु  अधिकांश सहकारी ऋण लिएर जरिवाना तिरेको खुलेको छ। आफूहरु पहिला काम गरेको पैसा नपाएर पीडित भएको र पछिल्लो पटक निकुञ्जले अह्राए बमोजिम नै काम गर्दा पनि ज्याला नदिइ उल्टो जरिवानामा परेको हुँदा अन्यायमा परेको उनीहरु बताउँछन्।

निकुञ्जले गरेको निर्णयमा चित्त नबुझेकोले पुनराबेदन गर्ने प्रयास पनि गरेको तर निकुञ्जले ठाडो कारबाहीको मिसिल हुँदैन भनी नक्कल कागज नदिएका कारण पीडा सहदै खुम्चिएर बस्नु परेको मजदुरको दुखेसो छ।  

उता, संरक्षण विरोधी(माछा मार्ने) काम गरेको भन्दै नेपाली सेनाले पक्राउँ गरेपछि जरिवाना तिराएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए।‘ निकुञ्ज प्रशासनले अह्राएको कामभन्दा बाहिर गएर संरक्षण विरोधी काम गर्ने जरिवाना तिराएको हो’, उनले भने, ‘यस अघिको कुरामा मैले जानकारी लिएपछि मात्र केही भन्न सक्छु।’

प्रकाशित: ४ मंसिर २०७८ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App