९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा स्थानीय सरकारको छुइगोठ मुक्त अभियान

जुम्लाको तिला गाउँपालिकाले सामाजिक कुरीतिविरुद्धको अभियान थालेको छ। समाजमा लामो समयदेखि जरा गाडेर बसेको छुइप्रथा (छाउपडी) अन्त्यको लागि छुइगोठ मुक्त अभियान थालेको हो। हरेक बस्ती छुइगोठमुक्त बनाइसकेपछि अहिले हरेक वडालाई छुइगोठ मुक्त बनाउन थालिएको हो। छुइ (महिनावारी) भएको महिला घरमा बस्न हुदैन, मिठो खानेकुरा खानु हुँदैन, आराम गर्न हुँदैन  भन्ने परम्परागत मान्यता विरुद्धको अभियानमा स्थानीय सरकार लागेको हो।

समाजमा विकृतीका रुपमा जरा गाडेर बसेको छुइप्रथा न्युनीकरणका लागि छ्ईगोठ मुक्त अभियान थालिएको गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा बताउँछिन्। उनले भनिन्, ‘छुइप्रथा महिलाको वृत्ति विकासको बाधक हो। अब छुइप्रथालाई उन्मुलन गर्नु जरुरी छ।’ उनका अनुसार महिला सशक्तीकरण, लैङ्गिक समानता र विभेद न्यूनीकरणका लागि यो अभियान एक नमुना हुनेछ।

गाउँपालिकाले २०२१ भित्र गाँउपालिकालाई छुइगोठ मुक्त बनाउने रणनीतिका साथ काम गरिरहेको छ। पहिलो चरणमा छुइगोठबाट घरसम्म पुर्याउनेमात्र योजना छ। उपाध्यक्ष बुढाले भनिन्, ‘महिलाहरु छुइ भएको बेला घरमा मात्र बस्न थालेभने धेरै सुरक्षाको अनुभुति गर्नेछन्। छुइ प्रथाले महिलामाथि हुने गरेको हिंसा न्युनीकरण हुनेछ।’

छुइगोठ मुक्त बस्ती घोषणा गर्नको लागि दुई पटकसम्म गहिरो तरिकाले छलफल हुने गर्छ। गाउँका धामीझाँक्री, भद्रभलादमी, नागरिक समाज, सबै सचेत नागरिकलाई एकै थलोमा बोलाएर छुइ प्रथाले समाजमा निम्तिएको विकृतिका बिषयमा गहिरो विश्लेषण हुन्छ। उनीहरुको सुझाव र सहमतिमा मात्र छुइगोठ मुक्त घोषणा हुने गरेको छ।

सबैले छुइ भएको समयमा महिलालाई घरमै बस्ने प्रतिबद्धता गर्छन्। छुइ भएको समयमा पोषिलो खानेकुरा खुवाउने, अधिकतम आराम गर्न दिने र सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता जाहेर गर्ने गरेका छन्।

प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन हुन्छ। जसका कारणले छुई प्रथाले गर्ने असरका बिषयमा सहजीकरण हुदै आएको छ। गाउँमा छुइप्रथा मान्ने नमान्ने बिषयमा संख्या एकीन हुनेगर्छ। अनिमात्र गाउँ तथा बस्तीस्तरिय सामुहिक प्रतिबद्धता र हस्ताक्षर संकलन गर्ने कार्य हुने गर्छ। उपाध्यक्ष बुढाले भनिन्, ‘गाउँपालिका छुइ गोठमुक्त गरेर विकृति विरुद्धको सन्देश फैलाउने तयारी छ।’

वडापालिका र गाउँपालिका स्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणा गर्ने गरिएको छ।  

तिला गाउँपालिका १ की कल्पना बुढा छुइप्रथाले समाजमा महिलामाथि प्रत्यक्ष विभेद गरिरहेको बताइन्। उनले भनिन्, ‘छुई घरभित्र पस्दा देवता रिसाउँछन् भन्ने भ्रम छ। त्यो भ्रमको भुमरीमा महिलालाई राखिँदै आएको छ। यो राम्रो होइन।’ उनले छुइप्रथा अन्त्य अभियानको अगुवाई महिलाले नै गर्नुपर्ने बताए।

तिला गाउँपालिकाले सर्वोदय नेपालको समन्वयमा छुइगोठ मुक्त अभियान थालेको छ।  सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्री पछिल्लो समयमा छाउपडि प्रथाविरुद्ध महिला एकजुट भइरहेको बताउँछन्। यो अभियान अहिले तिला गाउँपालिकामा मात्र चलेको छ।

तिला गाउँपालिका ३३ वटा बस्ती छुइगोठ मुक्त भएपछि सिंगो गाउँपालिकालाई छुइगोठ मुक्त बनाउने लक्ष्य राखिएको छ। 

प्रकाशित: ३ मंसिर २०७८ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App