९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

परिवार नियोजन संघको अध्यक्षमा कसजु

नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन्। दाङमा दुई दिन सम्म चलेको संघको महाधिवेशनबाट कसजु अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार देखि घोराहीमा सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सकिएको छ।  

कसजु २३ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिष्पर्धी दिवाकरबर श्रेष्ठले १६ मत पाए। यसअघिको कार्यकालमा पनि अध्यक्ष रहेका कसजु पुनः अध्यक्षमा दोहोरिएका हुन्। कुल मतदाता संख्या ४१ रहेको संघको महाधिवेशनमा ३९ मत खसेको थियो। ‘कुल ४१ मतदाता संख्या रहेको संघको महाधिवेशनमा ३९ मत खसेको थियो,’ मुख्य निर्वाचन अधिकृत दिपक रेग्मीले भने ‘यो मध्य २३ मतका साथ कसजु अध्यक्षमा निर्वाचित हुनु भयो।’ यसैगरि अध्यक्ष सहित अन्य ९ सदस्यका लागि पनि निर्वाचन भएको थियो।  

जसअनुसार महिला सदस्यमा ईन्द्रलक्ष्मी श्रेष्ठ,ज्योतीकुमारी श्रेष्ठ, निर्मला गौतम रेग्मी र सीताकुमारी राना निर्वाचित भए। यसैगरि खुला सदस्यमा  अर्जुन सिग्देल,कृष्णप्रसाद पाठक र निगम श्रेष्ठ निर्वाचित भए। यसैगरि युवा सदस्यहरुमा भगिरथी भट्ट र माला न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचित अधिकृत रेगमीले जानकारी दिए। उनका अनुसार अध्यक्ष सहित १० पदका लागि १७ जनाको उम्मेदवारी परेको थियो। संघको बिधान अनुसार निर्वाचति सदस्यहरु मध्यबाट एकजना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्ष मनोनित हुने छन्।  

संघको बिधान अनुसार निर्वाचन भएका कुल पद मध्य महिला प्रतिनिधित्व ५० प्रतिसत हुनुपर्ने उल्लेख छ। फलतः अहिलेको महाधिवेशनले अध्यक्ष सहित कुल १० पद मध्य ६ जना महिलाको प्रतिनिधित्व भएको छ। संघका नव निर्वाचित अध्यक्ष कसजुले संघको आन्तरिक ब्यवस्थापन प्रमुख चुनौती रहेको बताएका छन्। संघको आन्तरिक ब्यवस्थापनलाई चुस्त बनाएर संघको गतिविधीलाई थप प्रभावकारी बनाउने उनले बताए। 

‘६० बर्ष देखि चलिरहेको परिवार नियोजनसंघको आन्तरिक ब्यवस्थापनको पक्ष अहिले पनि उस्तै छ,’कसजुले भने ‘अब यसलाई परिमार्जन गरेर थप प्रभावकारी बनाउनु पर्ने नितान्त आवश्यक छ, फलतः यसका लागि संघको बिधान शंशोधन गरेरै भएपनि यो कामलाई हामी गर्छौँ।’ उनका अनुसार नेपालमा सरकारी पक्षले प्रदान गर्ने स्वास्थ्य सेवामा बीस प्रतिसत योगदान संघको रहने गरेको छ। ‘हामीहरुले हाम्रो ब्यवस्थापनलाई परिमार्जन सहित थप प्रभावकारी बनाउन सकेनौँ, भने नेपालमा रहँदै आएको संघको योगदानमा कमी आउन सक्छ’ उनले भने ‘यसर्थ हाम्रो यो योगदानलाई अँझ बिस्तार गरेर अगाडी बढ्ने तर यसमा कमी आउन नदिनका लागि हामी लागि पर्छौँ।’

प्रकाशित: १ मंसिर २०७८ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App