मुस्ताङको थासाङमा आइतबार मध्यान्हतिर एकाएक हिमपहिरो खस्यो। हिमपहिरोले मानवीय क्षति त गरेन, तर पहिरोको त्रासले भागदौड मच्चिदा स्कुले नानी र अभिभावक तथा शिक्षक घाइते भए। पहिरोपछि गाउँले त्रसित छन्। पहिरो झरेको ठाउँमा चर्केको र अझै खस्ने अवस्थाका ढिस्को देखिएको भन्दै गाउँलेको भोकनिद्रा हराएको छ।
टुकुचे पिकबाट खसेकोे पहिरोले काख र आसपासका बस्तीलाई असर पार्यो। स्थानीयका अनुसार लार्जुङ, कोवाङ, नाउरीकोट र बोक्सीखोलाका बस्ती यो पहिरोबाट बढी प्रभावित भए। आइतबारको हिमपहिरो खोँचमा खसेकोले बस्तीमा पुग्न पाएन र मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाई छ।
टुकुचे हिमाल र त्यसबाट निम्तिएको हिमपहिरोको त्रासको यो एउटा उदाहरण मात्र हो। हिमाली जिल्ला मुस्ताङ र मनाङमा धेरै बस्ती छन, ती कुनैपनि बेला सिरान क्षेत्रबाट झर्ने हिमपहिरोको जोखिममा पर्न सक्छन्। एकाएक झर्ने हिमपहिरोको वहावसँगै बग्न सक्ने जोखिममा ती बस्ती छन्। पुर्ख्याैली बसोबास रहेको ती बस्ती हिमाली चुचुरोको काखमा छन्। जलवायु परिवर्तनको असरले पछिल्लो समय हिमाली क्षेत्रमा कुनैपनि बेला हिमपहिरो झर्न सक्ने जोखिम बढिरहेको विज्ञले बताईरहँदा ती बस्ती पनि पहिरोको मारमा पर्न सक्ने त्रास टुकुचे पिकको हिमपहिरोले पनि पुष्टि गरेको छ।
थासाङ गाउँपालिका–२ का अध्यक्ष नरप्रसाद हिराचन भन्छन, ‘थासाङको धेरै क्षेत्र हिमपहिरोको जोखिममा छ। कुनैपनि बेला जे पनि हुनसक्ने त्रासमा हामी बसिरहेका छौं। पछिल्लो समय त झनै त्रास बढेको छ।’ अग्लो हिमालको काखमा बस्नुपरेको र पछिल्लो समय तीब्र गतिमा हिउँ पग्लिन थालेकोले पनि काखका बस्ती जोखिममा रहेको उनले बताए।
‘हामी सबैतिरबाट जोखिममा छौ। कालिगण्डकी र खहरेले बगाउने हो की हिमपहिरोले पुर्ने भन्ने त्रास बढिरहेको छ,’ हिराचनले भने, ‘यसबारे सरकारले सोच्नुपर्छ। बस्ती सुरक्षित पार्ने तरिका अपनाउन जरुरी ।’ उनका अनुसार पुरै बस्तीलाई स्थानान्तरण गर्न सहज छैन। किनकी ठूलो संख्याको बस्ती त्यस क्षेत्रमा छ। एउटा गाउँ वा बस्तीलाई मात्र स्थानान्तरण गरेर सम्भव पनि नहुने उनले बताए।
‘खोलानालाबाट जोगिन तटबन्धन गरौला, नदी नियन्त्रण गरौला, तर हिमपहिरोलाई अन्यत्र डाइभर्ट गर्न सकिन्न,’ हिराचनले भने, ‘हिमपहिरो डाइभर्ट गर्न वा रोक्न सकिन्न। तटबन्ध हालेर पहिरो रोक्ने कुरा अनुमान भन्दा बाहिरको हो।’
उनका अनुसार आइतबारको पहिरोपछि स्थानीयहरु अब कहाँ गएर बस्ने भन्ने त्रासमा छन्। पुख्र्यौली बस्ती भएकोले सबै गाउँलेको अन्यत्र जग्गाजमिन छैन। बिचल्लीमा पर्ने त्रासमा गाउँले रहेको उनले सुनाए। उनका अनुसार आइतबारको बस्तीपछि गाउँमा झनै जोखिम बढेको छ। किनभने लामो समयदेखि पहिरो नझरेको अवस्थाना त्यहाँका खोँच खालि थिए। अब डुंगाले ती खोँच पुरिएका छन्। त्यसैले पहिरो झर्यो भने सिधै बस्तीसम्म आउने त्रास बढेको उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत समेत रहेका स्थानीय सन्तोष शेरचनका अनुसार मुस्ताङ र मनाङमा हिमालमुनि धेरै बस्ती छन्। पछिल्लो समय हिमाली क्षेत्रमा हिमपहिरोको खतरा बढिरहँदा ती बस्ती पनि जोखिममा रहेको शेरचन बताउँछन्। शेरचनका अनुसार मुस्ताङको कोवाङ उपत्यका र लेते–कालापानी क्षेत्र सबैभन्दा बढी जोखिममा छन्।
उनका अनुसार थासाङ गाउँपालिका भित्र पर्ने टुकुचे, खन्ती, सौरु, कोवाङ, लार्जुङ, नार्खुङ, नाउरीकोट, भुर्जुङकोट, बोक्सीखोला, खाग्ताङ, कोखेठाँटीका बस्ती हिमपहिरोको जोखिममा छन्। यी सबै बस्ती धौलागिरी हिमश्रृंखला अन्गर्तका हिमाली चुचुराका कारण जोखिममा छन्। त्यस्तै मार्फा, घाँसा, मुक्तिनाथ क्षेत्र, कुन्जो गाउँ पनि हिमाली चुचुरोबाट निम्तिने पहिरोबाट जोखिममा छन्। मुक्तिनाथ क्षेत्रको झारकोट, खिङगा, रानीपौवा, पुराङ, झोङ, छोङगुर पनि उत्तिकै जोखिममा छन्। मुक्तिनाथको सिरान क्षेत्रबाट पनि हिमपहिरो आउनसक्ने जोखिम छ। सदरमुकाम जोमसोम, ठिनीगाउँ, स्याङ, ढुम्बाताल क्षेत्र पनि उत्तिकै जोखिममा छन्। किनकी जोमसोम र ठिनीलाई निलगिरी हिमालबाट खतरा छ।
‘हिमाली जिल्ला भन्दैमा सबै क्षेत्रमा जोखिम होईन। लोमान्थाङ क्षेत्र सुरक्षित छ। कतिपय ठाउँमा खानेपानीको चरम अभाव छ, तर, हिमपहिरोको जोखिमबाट टाढा छन,’ शेरचनले भने, ‘हिउँ पग्लिएर पानी बग्ने ठाउँका बस्ती बढि जोखिममा छन्।’ उनका अनुसार हिउँ पग्लेर बस्तीमा पुग्ने मात्र नभई कतिपय खहरे पनि तिनै हिमाली क्षेत्रबाट सुरु भएका छन्। ती खोलामा कुनैपनि बेला वहाव बढेर बस्तीमा पस्ने त्रास पनि रहेको उनले सुनाए।
‘हिमाली चुचुरोको काखमा रहेका धेरै बस्ती कुनैपनि बेला हिमपहिरोको चपेटामा पर्ने त्रास छ। पछिल्लो समय त यसको संकेत पनि मिल्न थालेको छ। आइतबारको पहिरो त्यही संकेतको रुपमा बुझ्न सकिन्छ,’ शेरचनले भने, ‘सबै गाउँलाई पहिरो पुर्नैपर्छ र बगाउनुपर्छ भन्ने होईन, हिमपहिरोको त्रास नजिक मात्र नभई टाढासम्म पनि पर्छ। त्यसैले टाढासम्मका बस्ती पनि जोखिममा छन् । तर, धेरै बस्ती त हिमाली काखैमा छन्।’
शेरचनका अनुसार समुन्द्री सतहको २६ सय देखि ३८ सय मिटर उचाईसम्मका ती बस्ती कुनैपनि बेला हिमपहिरोको चपेटामा पर्न सक्छन्। ‘आइतबारको पहिरो नयाँ हिमपातले निम्तिएको होईन, वर्षाैदेखि थुप्रिएको हिउँको पहिरो झरेको हो। वर्षाैअघि थुप्रिएको हिउँको पहिरो झर्दा जोखिम हुन्छ,’ शेरचन भन्छन, ‘नयाँ हिमपातको पहिरोको बेग कमजोर हुन्छ। तर, पुरानो हिउँको पहिरोको बेग बढि हुन्छ। त्यसले त मान्छे र बढेमानका रुख पनि लडाउँछ।’ पाँचहजारदेखि सातहजार मिटर उचाईको खण्डमा पुरानो हिउँ बढि जमेको उनले बताए।
शेरचनले हिमपहिरोको चपेटमा पर्न सक्ने सम्भावित बस्तीलाई तत्कालै अन्यत्र स्थानान्तरण गर्न नसक्ने भएपनि सुरक्षित हुनेबारे जनचेतना जगाउनुपर्ने जरुरी ठान्छन। तत्कालै अन्यत्र सार्न असम्भव हुनुमा ती सबै क्षेत्र संरक्षण क्षेत्रभित्र पर्छन्। गाउँलेको पुर्ख्याैली बस्ती भएकोले उनीहरु तत्कालै अन्यत्र सर्न पनि मान्दैनन्। बाक्लो बस्ती, सबैखालका सुविधा, खतीयोग्य जमिन, सांस्कृतिक धनी, पर्यटकीय आकर्षण र जैविक विविधताका कारण पनि यी बस्तीको महत्व रहेको उनले सुनाए। ‘तत्कालै पूर्व सूचना प्रणालि जडान गरेर बस्तीलाई सचेत बनाउने काममा ढिलाई गर्नु हुँदैन,’ उनले भने, ‘किनकी सिरानीमाथि तरबार झुन्डिए जसरी ती बस्ती बसेका छन्। कुनैपनि बेला गाउँ बग्न सक्ने जोखिममा छन्।’
अर्काे हिमाली जिल्ला मनाङका बस्ती पनि हिमपहिरोबाट उत्तिकै जोखिमपूर्ण अवस्थामा छन्। एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार टंकी मनाङ, मनाङ, हुम्दे, भ्राका, पिसाङका बस्ती पिसाङ हिमालका कारण जोखिममा छन्। पिसाङमा दुई वर्ष अघि हिमपहिरो झर्दा पुरिएर चारजना विदेशीले ज्यान गुमाएका थिए। त्यस्तै गंगापूर्ण हिमालको जोखिममा मनाङ गाउँ जोखिममा पर्न सक्ने उनले बताए। सदरमुकाम चामे पनि लम्जुङ हिमालको काखमा रहेकोले उत्तिकै असुरक्षित रहेको छ।
‘भीषण हिमपहिरो आउँदा धेरै बस्ती जोखिममा पर्न सक्छन्। काखका बस्ती बढी जोखिममा छन्,’ गौतमले भने, ‘ती बस्तीलाई सुरक्षित बनाउने बारे सोच्नुपर्ने बेला भएको छ। कुनैपनि बेला सोचेभन्दा फरक प्राकृतिक प्रकोप निम्तने अवस्था देखिएको छ। अब बस्ती सुरक्षित नबनाउने हो भने त्यसले ठूलो असर पार्छ।’ जलवायु परिवर्तनका कारण हुने क्षति कम गर्न सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्नुपर्ने काममा ढिलाई गर्न उनले उनले बताए।
भूगर्वविद पनि हिमाली क्षेत्रका बस्ती सिरानको चुचुरोका कारण जोखिममा रहेको बताउँछन्। भूगर्वविद श्रीकमल द्विवेदी भन्छन, ‘हिमाली क्षेत्रका धेरै बस्ती त्यहाँका चुचुरामा जमेको बरफका कारण जोखिममा रहेको आइतबारको घटनाले पुष्टि गरेको छ।’ अब ती बस्तीबारे अध्ययन गर्न जरुरी रहेको उनले बताए। ‘चुचुरोबाट झरेको हिमपहिरो सिधै बस्तीमा झर्ने अवस्थाको भिरालो ठाउँ भएमा त्यो बढी जोखिमपूर्ण हुन्छ। सम्भावित जोखिममा रहेका ती बस्तीबारे अब विश्लेषण गर्न जरुरी छ। जोखिम नक्सा बनाउनुपर्छ,’ उनले भने, ‘जोखिम के र कति भन्ने मात्रा पहिल्याउन जरुरी छ।’
उनका अनुसार अति जोखिमपूर्ण मानिएका बस्ती भन्दा माथि केही सम्भावित ठाउँमा फराकिलो क्षेत्र बनाएर तल्लो बस्ती जोगाउन पनि सकिन्छ। तर, त्यसको अभ्यास अहिलेसम्म गरिएको छैन। ‘साहै्र भिरालो ठाउँमा त सम्भव हुँदैन। तर, कतिपय ठाउँमा केही समथर भुभाग खोजेर माथिबाट खसेको हिमपहिरोलाई रोक्न सक्ने गरि संरचना बनाउने हो भने बस्तीलाई कम प्रभाव पर्न सक्छ। यो ठुलो लागतको काम पनि हो,’ उनले भने, ‘तत्कालै गर्नुपर्ने काम भनेको यस्तो पहिरो आउँदा कता जाने र कसरी ज्यान जोगाउने भनेर जानकारी दिनेगरि सचेत भने बनाउनुपर्छ।’
उनका अनुसार हिमपहिरो भएपनि कुन आकारमा आउँछ भनेर यकिन गर्न नसकिने हुँदा यो झनै जोखिमपूर्ण हुन्छ। ‘हिमाली क्षेत्रका लागि यो जोखिम हो भनेर सोच्नुपर्छ। उच्च हिमाली क्षेत्रबाट यस्ता जोखिम जलवायु परिवर्ततको कारणले सिर्जना भएको भन्ने पुष्टि भईसकेको छ,’ द्विवेदी भन्छन, ‘ठुलो हिमपहिरो आउँदा काखको बस्ती मात्र नभई तटीय क्षेत्रमा पनि जोखिम हुनसक्छ। त्यसैले अब सचेत हुने बेला भएको छ।’
प्रकाशित: ३० कार्तिक २०७८ १०:२१ मंगलबार