६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पोखराबाट आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा राखिएको बताइन्छ। 

सडकमा बन्दकर्ताको उपस्थिति नरहेकाले निर्वाध सवारी तथा व्यवसाय सञ्चालनको अवस्था रहेको प्रहरीको भनाइ छ। बन्दका क्रममा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरिएको प्रनाउ हमालले जानकारी दिए। नेकपाका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ, विद्यार्थी नेता युवराजलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ।

पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि पोखराको जनजीवन प्रभावित बनेको छ। मुख्य बजारका पसल बिहानैदेखि बन्द छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन्। केही मोटरसाइकल तथा स्कुटर भने निर्वाध सञ्चालनमा छन्। रासस

प्रकाशित: ३० कार्तिक २०७८ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App