२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बन्दको सास्तीमा परेका एक पात्र

ओखलढुंगाका ३८ वर्षीय रमेश रम्तेल मंगलबार बिहानै ठिमीमा भेटिए, साइकल हुइँक्याउँदै गर्दा।

साइकलको पछि ८ वर्षे छोरीलाई राखेर साइकलको पाइडल घुमाउँदै उनी काठमाडौँतिर लागिरहेका थिए।

चिसो थियो, सडक सुनसानप्रायः थियो, टोपी लगाए पनि उनको हातमा पञ्जा थिएन। साइकलको दाहिने हेण्डलमा रातो झोला झुन्ड्याउँदै काठमाडौँ गइरहेका उनी हतारमै थिए।

हतारमा रहेका रम्तेलले आफू काममा जान लागेको बताए।

‘काममा जान लागेको हुँ, ललितपुरमा साइट छ’, उनले भने।

घर बनाउने काममा लागेर सामान्य ज्याला मजदुरी गरी गुजारा चलाइरहेका उनी छोरीलाई साथमा लिएर काममा निस्किए।

‘छोरी पनि काममा?’, भन्ने जिज्ञासामा उनी भन्छन्, ‘छोरी काममा हैन, छोरीलाई चाहिँ उसको काकीकोमा छोडर म चाहिँ काममा जान्छु।’

उनले छोरीकी आमा पनि विहानै काममा जाने भएकाले छोरी हेर्ने कोही नभएपछि काकीकोमा छोडेर आफू काममा निस्किएको सुनाए।

‘छोरीकी आमा पनि ज्यामी कामै गर्छिन्, उनी विहानै निस्किइन्’, उनले भने, ‘मलाई पनि काममा जानु छ, आज बन्द भएकाले छोरीको स्कुल पनि बन्द हुने भएकाले जडिबुटीमा छोडेर जाने हो।’

उनले मंगलबार विप्लव समूहले गरेको नेपाल बन्दका कारण छोरीलाई स्कुल पठाउन नपाएको बताए। ‘बन्द नभएको भए, छोरीलाई स्कुल पठाएर हामी काममा निस्किन्थ्यौं, आज बन्द रहेछ, त्यही भएर...’, उनले भने।

उनले बन्दका कारण आफूलाई मात्र नभएर सानी छोरीलाई पनि प्रभाव परेको बताए। रम्तेलले मूल्यवृद्धिको विरुद्धमा गरिएको बन्द सुन्दा राम्रो भए पनि त्यसले पारेको असरले भने आफूलाई नराम्रो बनाएको बताए। भने, ‘बन्द गरे पनि हामीजस्तालाई सास्ती हुने हो, ठूलाबडालाई सास्ती हुने हैन क्यारे!’

उनले मूल्यवृद्धि भयो भन्दै गरेको बन्दले पनि कुनैको भाउ नघट्ने समेत बताए। ‘खै, के घट्छ र भाउ, उल्टो पसलेले सामान लुकाउँछन्, महंगोमा बेच्छन्, पर्ने मार हामीजस्तै ज्यालामा काम गर्नेहरुलाई त हो,’ उनले दुखेसो पोखे।

यो पनि पढ्नुहोस्

नेपाल बन्दः भक्तपुरदेखि काठमाडौँ सम्मका केही दृष्य(फोटो फिचर)

प्रकाशित: ३० कार्तिक २०७८ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App