१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला

मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो।

‘अहिलेको जनगणनामा सहभागी भएनौं भने हामी राष्ट्रिय तथ्यांकमा छुट्छौं’,विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले भने।कोही पनि नागरिक जनगणनामा नछुटून् भन्नेतर्फ विभाग सचेत रहेको उनले बताए।जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उट्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण संकलन गर्ने कार्यक्रम छ।

मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि सबै तयारी पूरा भइसकेको विभागले जनाएको छ। विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।

यस्तै धेरै जनसंख्या भएका जिल्लामा एकभन्दा बढी जनगणना कार्यालय खोलिएको छ भने काठमाडौं जिल्लामा ५ वटा जनगणना कार्यालय स्थापना गरिएको छ। ललितपुर,रुपन्देही,सुनसरी,मोरङ,झापा र कैलालीमा जनगणनाका लागि दुईवटा कार्यालय स्थापना गरिएको छ। त्यसैगरी स्थानीय तहमा पनि जनगणना कार्र्यालय स्थापना गरिएको छ।

केन्द्रदेखि स्थानीय तहसम्म जनगणना सहजीकरणका लागि जनगणना समन्वय तथा सहजीकरण समन्वय समिति गठन गरिएको छ।केन्द्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा जनगणना निर्देशन समिति,प्रदेशस्तरमा प्रमुख सचिवको अध्यक्षतामा,जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा र स्थानीय तहमा पालिका प्रमुखको अध्यक्षतामा जनगणना समिति गठन गरिएको छ।

यसपटक जनगणनामा बेरोजगार युवालाई तालिम दिई परिचालन गरिएको छ। यसअघि शिक्षकलाई मात्र गणकको रुपमा खटाउने गरिएकोमा यसपटक बेरोजगार तथा १२ कक्षा उत्तीर्ण गरेका युवालाई तालिम दिएर खटाइएको विभागका महानिर्देशक श्रेष्ठले बताए। विभागका अनुसार ४४ हजार गणकमा ५० प्रतिशत महिला छन्।

गणक तथ्यांक संकलन गर्न ८० वटा प्रश्नसहित घरघर पुग्नेछन्। विकसित देशमा जनगणनामा १० वटामात्र प्रश्न हुने अभ्यास रहेकोमा नेपालमा भने सामाजिक,आर्थिक, शैक्षिक, स्वास्थ्य तथा स्थानीय तहको सामुदायिक विकासका तथ्यांकसमेत संकलन गर्ने प्रयोजनका लागि लामो प्रश्नावली तयार पारिएको विभागले जनाएको छ।

प्रश्नावलीमा अपांगता,हेमोफोलिया, अटिजम, मातृभाषा, धर्म, बसाइँसराइ, वैदेशिक रोजगारीका विषय पनि समेटिएको छ। काठमाडौं उपत्यकाभित्रका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरी विवरण संकलन गरिनेछ।

सञ्चारकर्मीले नेपालको नयाँ नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेकलगायत स्थानमा कसरी जनगणना गर्ने भनी राखेको जिज्ञासामा महानिर्देशक श्रेष्ठले यसका लागि कूटनीतिक पहल जारी रहेको र वैकल्पिक विधिबाट तथ्यांक संकलन गर्ने तयारी भइरहेको बताए।‘परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाइसकेका छौं, सहयोग भएमा गणक पुगेर हुन्छ, नभएमा अन्य विकल्पबाट संकलन गरिन्छ ’ महानिर्देशक श्रेष्ठले भने।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले राष्ट्रिय जनगणना देशको समग्र विकास नीति तथा कार्यक्रमसँग जोडिएको विषय भएकाले हरेक नागरिकले सही विवरण दिएर यसलाई सफल पार्नुपर्ने बताए। ‘जनगणनाबाट आउने तथ्यांक विकास लक्ष्य,नीति तथा कार्यक्रम तय गर्न सहयोगी हुन्छ’,उनले भने।

नेपालमा पछिल्ला वर्षहरूमा जन्मदर घट्दै गएकाले प्रक्षेपितभन्दा कम जनसंख्या हुने विभागको अनुमान छ। पहिला नेपालमा जन्मदर २.०१ रहेकोमा अहिले यो घटेको केही समयअघि गरिएको स्वास्थ्य सर्वेक्षणले औंल्याएको छ।

यसअघि विभागले राष्ट्रिय जनगणना,२०७८ मा कुल जनसंख्या ३ करोडभन्दा बढी हुने प्रक्षेपण गरेको थियो। त्यसैगरी नेपालबाट हुने अन्तर्राष्ट्रिय बसाइँसराइले पनि प्रक्षेपितभन्दा कम जनसंख्या हुने अनुमान गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App