१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ : सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ७ घाइते

प्रदेश १ को विभिन्न स्थानमा शनिबार र आइतबार भएका ६ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको मोरङ, झापा र उदयपुरमा भएको सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

आइतबार मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरी गाउँपालिका–५ का २१ वर्षीय आशिष सरदार रहेका छन्। पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट खोलामा खस्दा सरदारको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। घटनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शनिबार भाइटीकाको दिन भएको ५ वटा सवारी दुर्घटनामा परी ७ को मृत्यु र ७ जना घाइते भएको प्रहरीले जनाएको छ।  

मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो ठोकिएर दुर्घटना भएको थियो। दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनामध्ये २ जनाको घटनास्थलमा नै र १ जनाको उपचारको क्रममा मृत्यु भएको एसपी राईले बताए। मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका–२ का ३० वर्षीय कमल कार्की पछाडि सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलकबहादुर सुवेदीको घटनास्थलमा मृत्यु भयो भने अर्का लेटाङ नगरपालिका–२ कि ४५ वर्षीया सीता कार्कीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका सवा ७ बजेतिर मृत्यु भएको हो। गाडी र गाडी चालक लेटाङ नगरपालिका–२ का ४७ वर्षीय पुष्पबहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ।  

यस्तै, शनिबार साँझ पौने ६ बजेतिर मोरङको रंगेली नगरपालिका–६ टकुवा–पिपल चोकअन्तर्गत भित्री सडक खण्डमा आफैले चलाएको साइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। मोरङ सुनवर्षी नगरपालिका–६ पटियापाडा का ३० वर्षीय शत्रुघन साहको दुर्घटना हुँदा घाइते भई उपचारका लागि रंगेली अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै शनिबार साँझ ६ बजेतिर उदयपुरको त्रियुगा नगरपालिका–११ मेन चोकबाट पूर्वतर्फ जाँदै गरेको स १ ह १६२० नम्बरको अटो र पिपल चोकबाट आउँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भए।  

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका–११ का ८५ वर्षीय कुलप्रसाद भण्डारी छन्। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा राति साढे ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सप्तरी कंचनपुर नगरपालिका–१२ का ५२ वर्षीय कमलप्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका–७ का ४२ वर्षीय नरबहादुर कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ।

त्यसैगरी शनिबार साँझा ६ बजेतिर झापाको विर्तामोड नगरपालिका–६ गिरीबन्दु टि स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसी पल्सर  मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी ठोकिँदा दुर्घटना भएको थियो। स्कुटी चालक मेची नगरपालिका–१० का ४२ वर्षीय डिल्ली कार्की र स्कुटीको पछाडि सवार उनकै छोरा १६ वर्षीय मनिष कार्की र अर्को मोटरसाइकलको पछाडि सवार झापा हल्दिबारी गाउँपालिका–२ का २१ वर्षीय पिजेश लामा घाइते भएका थिए। घाइतेहरुलाई उपचारका लागि विर्तामोडको बि एण्ड सी अस्पताल लगिएको थियो। स्कुटीको पछाडि सवार मनिषको राति ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकल चालक झापा हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय उमेश लामा मोटरसाइकलसहित फरार रहेकाले खोज तलास भइरहेको एसपी राईले जानकारी दिए।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचिनगर नगरपालिका–१३ तेलिबारीमा शनिबार राति साढे ११ बजेतिर दुई वटा मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो। पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परी ४ जना घाइते भए। ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचिनगर नगरपालिका–८ का २१ वर्षीय अनिष गिरी, पछाडि सवार सोही ठाउँका १८ वर्षीय अभिषेक श्रेष्ठ घाइते भए। 

३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका–८ का २१ वर्षीय प्रवीण मेचे घाइते भए। घाइतेमध्ये अभिषेक श्रेष्ठको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा राति साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७८ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App