१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा जात्राको रौनक सुरु

दसैंपछि बैतडीमा विभिन्न धार्मिक शक्तिपीठमा जात्राको रौनक सुरु भएको छ। कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्लाका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गरेको छ। कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको छ।

दसैंको बेला जात्रा लागेका मन्दिरहरुमा समेत कार्तिक शुक्ल पक्षमा पूजाआजा गर्ने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। त्रिपुरासुन्दरी, निङ्लाशैनी, तल्लादेही, मल्लादेही, उदयदेव, मेलौली, रौलाकेदार, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) लगायतका मन्दिरमा मेला लाग्ने गरेको छ। मेलाको लागि देशपरदेशमा रहेका स्थानीय गाउँ फर्कने गरेका छन्।

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहेको छ। त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ।

यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ। दार्चुलाको लटिनाथ बन्तोली मन्दिर कार्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाकै राती जात्रा सम्पन्न हुने शैल्यशिखर नगरपालिका वडा नं ७ का अध्यक्ष जयानन्द जोशीले बताए।

तिहार सकिए लगत्तै सुदूर पहाडमा जात्राको रौनक छाएको दशरथचन्द नगरपालिका त्रिपुराका गणेशसिंह थापाले बताए। उनले भने ‘हाम्रो यतातिर पहिलादेखिकै चलन हो। कार्तिक शुक्ल पक्षमा विभिन्न मन्दिरहरुमा जात्रा हुने गर्दछ।’

दसैंदेखि कार्तिकको अन्तिमसम्ममा पहाडी क्षेत्रका गाउँघरमा चहलपहल बढ्ने गरेको स्थानीय बताउँछन्। बिगतका वर्षमा कोरोना भाइरसको कारण गाउँ फर्कन नसकेका स्थानीय पनि गाउँ फर्केपछि चहलपहल बढेको छ। जात्रा मेला, चाडवाड मनाउन अहिले जिल्लाका हरेक धार्मिक स्थलमा भिडभाड बढेको दशरथचन्द नगरपालिका–५ का केशवराज भट्टले बताए। तराईका जिल्लाहरुबाट पनि पूजापाठको लागि जिल्ला भित्रने गरेका छन्।

प्रकाशित: २१ कार्तिक २०७८ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App