१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

रुख काट्ने निर्णय नहुँदा लोकमार्गको काममा ढिलाई

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको गोरखा खण्डको काम रुखका कारण ढिलाइ भएको छ। दायाँबायाँको रुख काट्नेबारे निर्णय लामो समयदेखि नहुँदा मापदण्डअनुसार सडक चौडा बनाउने काम रोकिएको हो।  

‘वन कार्यालय र हामीले सर्भे गरेर कस्ता खाले रुख, कति काटिन्छ भन्ने विवरण गत चैतमा पठाएका हौँ’, आयोजनाको गोरखास्थित कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद श्रेष्ठले भने।

वन मन्त्रालयले विभागमा पठाएको फाईल अहिले फेरि मन्त्रालयमा आइपुगेको छ। ‘मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी भएकाले रुख काट्ने काम सुरु भएको छैन’, सूचना अधिकारी श्रेष्ठले भने। सडकको ‘राईट अफ वे’ बाट रुख नहटाउँदासम्म निर्माण व्यवसायीलाई काम नगर्ने ‘गज्जब’ बहाना मिलेको छ। गोरखा मध्यपहाडीको काम सात वर्षअघि सुरु भएको हो। चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३ दशमलव ३७ कलिोमिटर सडकखण्डमध्ये आरुघाटदेखि ओख्ले खण्डको १३ किलोमटिर र ओख्लेदेखि खहरे १६ किलोमिटर २०७१/७२ बाट निर्माण सुरु भएको हो।

आरुघाट–ओख्ले सडकमा ८५ प्रतशित काम सम्पन्न भएको छ भने खहरेसम्म ६० प्रतशितमात्रै काम भएको मध्यपहाडी लोकमार्ग गोरखास्थित आयोजना कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद श्रेष्ठले बताए। ‘यो दुईवटा प्याकेज क्रोनिक ठेक्का हो,’ उनले भने।

खहरे–मसानेठाँटी खण्डको १२ दशमलव पाँच किलोमटिरको करिब ३० प्रतिशत र मसानेठाँटी – ठाँटीपोखरी सडकको करिब १५ प्रतिशत मात्र प्रगति भएको छ। यो दुबै २०७६/०७७ बाट सुरु भएको योजना हो। यो खण्डमा सबैभन्दा धेरै रुख पर्छ। यहाँ कामले गति लिएको छैन। यसअघि एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले पनि उक्त खण्डमा रुख धेरै भएकाले स्तरोन्नति गर्न सकेको थिएन। अहिले उक्त खण्ड मध्यपहाडी लोकमार्गमा परेपछि रुख काट्ने प्रक्रिया सुरु भएको हो।

गोरखाको मध्यपहाडी खण्डमा तीन हजार ८७ वटा विरुवा काटिँदैछ। साना, ठूला गरी आरुघाटदेखि गोरखा र लमजुङको सिमानामा पर्ने मादिपुल सम्मको सडकको दायाँबायाँ सो परिमाणमा बिरुवा काटिने डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए।

‘उक्त सडक खण्डमा १० वटा सामुदायिक वनको रुखहरु पर्छन्’, उनले भने, ‘हामीले रुखको गणना गरेर वन तथा भूसंरक्षण विभागलाई पठाइसकेका छौँ।’ वन डिभिजनले पठाएको विवरण अनुसार तीन सय १९ रुख, आठ सय ९६ पोल आकारको रुख र एक हजार छ सय ४२ लाप्रा काट्नु पर्नेछ। यो काट्न विभागले मन्त्रिपरिषद्मा पेस गरेर निर्णय भएपछि मात्रै मिल्ने वन डिभिजनले जनाएको छ।

‘हामीले पठाएको गत चैत २२ गते हो’ वन डिभिजनका सूचना अधिकारी महेश पौडेलले भने, ‘निर्णय भएर आउन बाँकी छ।’ सबैभन्दा धेरै बिरुवा पालुङटार नगरपालिका १ खोप्लाङ सामुदायिक भवनको पर्नेछ। सोही वडाको अन्नपूर्ण सामुदायिक वन, देबिस्थान सामुदायिक वनको बिरुवा धेरै सडक निर्माणमा हटाउनु पर्ने देखिएको छ।

सिरानचोक गाउँपालिका वडा नम्बर ४, ५, ६ भिमसेन थापा गाउँपालिकामा केही बिरुवा हटाउनुपर्ने देखिएको छ। सडकको दायाँबायाँ गरी तीन दशमलव १४ किलोमिटर जमिन पनि सडकले ओगट्नेछ।

प्रकाशित: १४ कार्तिक २०७८ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App