२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मानव आश्रममा अमानवीय व्यवहार

सर्लाहीस्थित मानव सेवा आश्रममा रहेकी एक महिलामाथि निर्घात कुटपीट भएको छ। सर्लाहीकै रेखाकुमारी कार्कीलाई आश्रम सञ्चालकहरुले कुटपीट गरी परिवारको साथमा फिर्ता पठाएका छन्। पीडितका दाजु विमलकुमार कार्कीका अनुसार लगेको एक महिनामै विरामी रहेकी रेखालाई शरीरभर निलडाम हुनेगरी कुटपीट गरिएको र परिवारलाई फिर्ता पठाइएको छ। 

सो सम्बन्धमा पीडित परिवारले इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी समेत दर्ता गराउन जाँदा पनि उजुरी समेत दर्ता नगरिएको गुनासो गरेका छन्। विरामी बैनीलाई हामी पुर्याउन गएका होइन उनीहरु घरमै आएर हामी उपचार गर्छौ भन्नुभयो तर कुटपीट गरेर शरीरभरी घाउचोट लगाई घर पठाउनु भयो, हामीले शरीरमा चोट छ त यो कसरी भयो भनेर सोधीखोजी गर्दा तपाईहरुलाई बताउन जरुरी छैन भने,’ पीडितका दाजु विमल कार्कीले भने।

पीडितका आफन्तहरुले विहिबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घट्ना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे। ‘यसमा केही भएको होइन सर, मनोरोगी–मनोरोगीहरुबीच झडप भएको हो उहाँ पनि मनोरागी हुनुहुन्थ्यो यसलाई ठूलो बनाउन जरुरी छैन। त्यस्तो केही भएको छैन यो एउटा राम्रो संस्था हो तपाईहरु पनि सकारात्मक बन्नुपर्यो’, सञ्चालक कार्कीले भने ‘उनी मनोरोगी हुन यो खासमा केही होइन कहिले काही समस्या हुन्छ।’ रेखा ८ बर्ष अगाडी देखि विरामी परि मानसीक रोगका कारण होस ठेगाना समेत नरहेको अवस्थामा घरमै बसेका बेला आश्रमका सञ्चालकहरु आएर लगेका थिए। 

रेखाकी आमा चन्द्रकला कार्कीले प्रहरी कार्यालय हरिवनमा दिन लागेको जाहेरीमा आफ्नी छोरीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएका बेला आश्रमका मानिसहरु आएर लगेको उल्लेख गरेकी छिन्। उनले विहिबार आश्रमका सञ्चालकविरुद्ध उजुरी दर्ता गराउन जाँदा उजुरी लिन नमानेको बताएकी छिन्। ‘छोरी बिरामी भए पछि निज छोरीलाई बिभिन्न अस्पतालमा उपचार गरि छोरी पूर्णरुपमा निको नभए पनि सामान्य जिवन यापन गर्न सक्ने सम्म भएकी थिईन। 

यसरी छोरी रेखाकुमारी कार्की लाई बिभिन्न अस्पतालमा उपचार गरे पनि पूर्णरुपमा निको नभएकोले चिकित्सकको सल्लाह अनुसार घरमा नै बसी उपचार गराई रहेको थिएँ। यसरी घरमा नै उपचार गराई रहेकी छोरीको स्वास्थ्यमा ढिलै भए पनि क्रमिक सुधार आई रहेको थियो। यसै अवस्थामा सुकदेव कार्की मेरो घरमा आई छोरीको बारेमा बुझी लगे तर अहिले चोटपटक लगाएर फिर्ता गरेका छन्’, पीडितकी आमा चन्द्रकला कार्कीले जाहेरीमा उल्लेख गरेकी छिन्। 

तर सञ्चालक सुकदेव कार्कीले आफूहरुलाई छोरी आश्रममा लगिदिन आग्रह गरेपछि ल्याएको दावी गरेका छन्। ‘यहाँ झगडा भएको हो हामीले कुटपीट गरेको होइन शरीरमा अलि अलि चोट देखिएको सत्य हो’,सञ्चालक सुकदेव कार्कीले भने। पीडित रेखाको भने शरीरको संवेदनशील अंगमा समेत चोट लागेको छ। आँखा, ढाँड, पाखुरा, तिघ्रा र शरीरको संवेदशील अंगमा समेत चोटपटक लागेको छ। शरीरमा लागेको चोटपटकलाई जस्ताको तस्तै राखेर आश्रमले परिवारलाई फिर्ता गरेको छ। 

‘हामीले शरीरमा चोटपटक कसरी लाग्यो अनुसन्धान मात्रै गर्नुपर्‍यो भनेको हो आश्रम राखेर कुटपीट गर्न पाइदैन भन्ने हाम्रो भनाई हो’, पीडित रेखाका दाजु विमल कार्कीले भने‘,आज बहिनीमाथि कुटपीट भयो भोली अरुमाथि यस्तै अन्याय होला, सडकमा रहेका मानिसहरुको उद्धार गर्ने नाममा यस्तो गर्न पाइदैन भन्ने हाम्रो भनाई हो।’ 

पीडितका दाजु विमल कार्कीका अनुसार प्रहरीले केस फारम समेत भर्न नदिई सो घट्नालाई दबाउन खोजेको छ।‘हामीले छानवीन होस भनेर घाउँचाजको केस फारम भर्न खोजेको र उजुरी दिन खोजेको यसलाई यतै मिलाऔ भन्दै प्रहरीनै यो घट्नालाई मिलाउन खोजिरहेकोछ’, पीडितका दाजु कार्कीले भने।

प्रकाशित: १२ कार्तिक २०७८ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App