कोसी राजमार्गअन्तर्गत विराटनगर– ४ आयल निगम अगाडि भएको सवारी दुर्घटनामा १ जना पैदल यात्रीको मृत्यु भएको छ। बुधबार साँझमा भएको दुर्घटनामा परी अन्य ७ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।
कारको ठक्करबाट घाइते भएका विराटनगर–३ हलेसी टोलका ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा बुधबार साँझमै कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालक सप्तरी राजविराज घर भएका दीलिपकुमार यादवका साथै कारमा सवार ब्रमदेव यादव, गिरिराज चौधरी र सुनिता यादव घाइते भएका छन्।
त्यसैगरी संखुवासभाको खाँदबारी–१ का ६५ वर्षीय भोजराज काफ्ले, मोरङको सुनबर्षी नगरपालिका–२ की ३५ वर्षीया मीना भण्डारी र उनकै ६ वर्षीय छोरा प्रयास भण्डारी घाइते भएका हुन्। घाइतेहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ नम्बरको रातो कारले सोही दिशातर्फ जाँदै गरेको प्रदेश नंं.२–०३–००१–ख १७७१ नम्बरको मालवाहक ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको हो। कारले ट्रकलाई ओभरटेक गर्दा ट्रकमा ठोकिएर अनियन्त्रित भई कार सडकमा रहेको डिभाइडरमा ठोकिएको थियो। कारले डिभाइडरमा ठक्कर दिएपछि उछिटिएको डिभाइडरले बाटो काट्न लागेका ४ जनालाई लागी घाइते भएका थिए।
इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा २ झ ३२६५ नम्बरको नेपाली सेनाको गाडी पनि क्षति भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार कारले ओभरटेक गर्दा दुर्घटना भएको देखिएको छ। कार चालक घाइते भई उपचार गराइरहेको छन् भने सेनाको गाडी चालक र ट्रक चालक दुवैलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०७८ ०४:२१ बिहीबार