१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डुँडेझारी–टीकापुर सडकका ठाउँठाउँमा खाल्डा

सडकमा परेका खाल्डा। तस्बिर: योगेश/नागरिक

कैलालीको डुँडेझारी–टीकापुर सडकखण्ड भत्किएको छ। सडकको कालोपत्रे भत्किएर ठाउँ ठाउँमा ठूल्ठूला खाल्डा पर्न थालेका छन्। निर्माण सम्पन्न भएको दुई/तीन वर्षमै सडकमा खाल्डा परेपछि गुणस्तरीयता माथि शंका गर्न थालिएको छ।  

सडकको दुई/तीन किलोमिटरमा ठूल्ठूला खाल्डा परेपछि आवागमनमा समस्या भैरहेको छ। साना सवारीका साधन सञ्चालनमा अझ धेरै समस्या भैरहेको सवारी चालकको भनाई छ। यो सडकको १ किलोमिटर तीन वर्षअघि रेखा कन्ट्रक्सन लम्कीले र ३ किलोमिटर गतवर्ष राजन निर्माण सेवा टीकापुरले निर्माण गरेका हुन। निर्माण पक्षले मर्मत अवधि समाप्त भैसकेको जनाएको छ।  

रेखा कन्ट्रक्सनका इन्जिनियर गगन शाहीले क्षमता भन्दा बढी भार बोकेका टिप्पर हिँडेपछि सडकमा खाल्डा परेको बताए। उनले विगत केही महिना यता लम्की–टीकापुर सडक निर्माणाधिन अवस्थामा रहेकाले ढुंगा बालुवा बोकेका अधिकांश टिप्पर डुँडेझारी–टीकापुर सडक हुँदै ओहोर दोहोर गर्ने गरेको बताए।  

‘यताको बाटो बन्न थालेपछि सबै डुंगा बालुवा बोकेका टिप्पर त्यताबाट हिँडे’ उनले भने–‘सडकमा खाल्डा पर्नुको मुख्य कारण यही हो।’उनले सो सडकको भारबहन क्षमता १० टन मात्रै रहेको जानकारी दिए। उनका अनुसार त्यो भन्दा धेरै भार बोकेका टिप्पर हिँड्न थालेपछि सडक भत्किएको हो। उनले आफ्नो निर्माण कम्पनीका टिप्पर समेत सोही सडकमा गुड्ने भएकाले व्यवहारिक रुपमा सडक मर्मतको काम गरिदिने बताए।  

सडक डिभिजन कार्यालय महेन्द्रनगरले भने सडकको अवस्थाका बारेमा अनभिज्ञता जनाएको छ। इन्जिनियर गणेश बुढाले सडकको अहिलेको अवस्था बारेमा आफूलाई जानकारी नभएको बताए। उनले निर्माण पक्षले मर्मत गर्ने अवधि समाप्त भैसकेको बताए। ‘मैले पछिल्लो समय सडकको अवस्था बुझ्न पाएको छैन’ उनले भने–‘के रहेछ म बुझ्छु।’

कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा भने सोही सडकको टीकापुरतर्फबाट साढे चार किलोमिटर सडक निर्माण गरेको छ। सो सडक अन्र्तगत टीकापुरदेखी सुवर्णपुरसम्मको कालोपत्रेको अवस्था भने बिग्रिएको छैन।  

यो सडक टीकापुरलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक मार्ग हो। सडकको केही भाग अझै कालोपत्रे हुन बाँकी छ। सडक कालोपत्रे सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले सडकको गुणस्तर सुरु देखी नै चित्त नबुझेको भन्दै विरोध जनाएपनि सरोकारवाला पक्षले सुनुवाई नगरेको गुनासो गरेका छन्।  

प्रकाशित: ८ कार्तिक २०७८ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App