coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नन्कुन्नी हत्या र निर्मला अपहरणः छानबिन समितिले बढायो सक्रियता

नन्कुन्नी धोबीको हत्या र१२ वर्षदेखि बेपत्ता भएकी निर्मला कुर्मीकोघटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन समितिले शुक्रबारदेखि छानबिनको काम सुरु गरेको छ। शुक्रबार पहिलो दिन जिल्लास्थित सरोकारवाला निकायसँग उक्त समितिले छलफल गरेको छ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी संयोजकत्वको टोली बिहीबार नेपालगन्ज आएको थियो। नेपालगन्ज आएदेखि नै समितिले छानबिनमा सक्रियता देखाएको छ। हत्या गरिएकी भनिएकी नन्कुन्नी र अपहरणपछि बेपत्ता भएकी भनिएकी निर्मलाको अवस्थाका विषयमा छानबिन हुने समितिले जनाएको छ। ‘घटना कसरी भयो र दोषीको हो भन्ने विषयमा मसिनो ढंगले अनुसन्धान गर्छाैं,’ छानबिन समितिका संयोजक एवम् सहसचिव रेग्मीले भने, ‘अनुसन्धान उपलब्धिमूलक हुनेछ।’अनुसन्धानमा सघाउ पुर्‍याउन उनले सबैलाई अपिल समेत गरेका छन्। छानबिन टोली घटनास्थलसम्म पुग्ने छ। साथै उक्त टोलीले पीडित तथा पीडक भनिएका र स्थानीयहरुसँग पनि छलफल गर्नेछ।

साउन ५ गते राति नन्कुन्नीको हत्यापछि झुन्ड्याइएको पीडित पक्षले दाबीगर्दै आएको छ। यता करोडौंको सम्पत्ती हडप्न १२ वर्ष अघि निर्मलाको अपहरणपछि हत्या गरिएको अधिकारकर्मी र पीडित परिवारको दाबी छ। अहिलेसम्म निर्मलाको अवस्था सार्वजनिक भएको छैन। यसमा प्रहरीले गम्भीरताका साथ छानबिन नगरेको पीडित परिवारको भनाइ छ। न्यायका लागि नेपालगन्जबाट काठमाडौं पैदलयात्रा गरेर सरकारको ध्यानाकर्षण गराएको अधिकारकर्मी र पीडित परिवारले छानबिन समितिलाई नेपालगन्जमा स्वागत समेत गरेका छन्। 

माइतीघर मण्डलामा धर्ना बसेका उनीहरु सरकारले उक्त विषयमा छानबिन समिति गठन गरेपछि धर्ना स्थगित गरेर जिल्ला फर्किएका थिए। ‘हाम्रो पीडादायी संघर्षपछि सरकारले छानबिन समिति गठन गरेको छ,’ अधिकारकर्मी रुबी खानले भनिन्, ‘आसा छ छानबिन समितिले निष्पक्षभएर घटनाका विषयमा गहिरोसँग अध्ययन गरेर निष्कर्ष निकाल्ने छ।’ सत्य तथ्य विषय बाहिर ल्याएर दोषीलाई तत्काल कारबाही हुने अपेक्षा रहेको उनको भनाइ छ। 

साथै उनले जघन्य अपराध जस्तो घटनालाई तोडमोड गर्न खोज्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारी र प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेलाई विभागीय कारबाही हुनुपर्ने बताइन्। संयोजक रेग्मी संयोजकत्वमा नेपालगन्ज आएको छानबिन समितिले एक हप्ता जिल्लामा रहेर घटनाका विषयमा अनुसन्धान गर्ने छ। 

प्रकाशित: ५ कार्तिक २०७८ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App