१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोतीपुर औद्योगिक क्षेत्रः जग्गा कब्जा गर्ने समूहका अली पक्राउ

चारजनाको ज्यान जानेगरी भएको बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणसम्बन्धी घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न स्थानीयलाई उक्साउने, समूह गठन गर्ने, बैठक भेला गरी जग्गा कब्जाको योजना बनाएको आरोपमा प्रहरीले कपिलवस्तुको शुद्धोधन गाँउपालिका–६ स्थायी ठेगाना भई बुटवलको देवीनगरमा डेरा गरी बस्ने ४४ वर्षीय सावीर अली मुसलमानलाई पक्राउ गरी सार्वजनिक गरेको हो। राजु आलम नामबाट परिचित अलीलाई प्रहरीले कात्तिक १ गते राति बुटवल–११ देवीनगरस्थित डेराबाट नियन्त्रणमा लिएर मंगलबार सार्वजनिक गरेको हो।  

प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्नेलगायतका कामको नेतृत्व गरेका थिए। 

उनको डेराबाट तीन थान माइन्युटिङको प्रतिलिपि, टोली गठन गरेका कागजात, सम्बन्धित व्यक्तिहरूका फोन नम्बर, वस्ती विकासको सहयोग रसिदसहितका १३ थान कागजात बरमद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए।  

उनीसहितका अन्य केही व्यक्तिले योजनाबद्ध ढंगबाट सरकारी जग्गा अतिक्रमणको धन्दा चलाउने र सर्वसाधारणबाट अवैध रूपमा पैसा असुल उपर गर्ने गरेको आशंकामा प्रहरीले अन्य केही व्यक्तिको पनि खोजी गरिरहेको जनाएको छ। 

अलीले यसअघि अन्य क्षेत्रमा पनि सुकुमबासी क्षेत्र रहेको स्थानमा जग्गा अतिक्रमणका लागि स्थानीयलाई उचाल्ने, सुकुमबासी जग्गा दिलाइदिने प्रलोभनमा पैसा असुल्नेलगायतका काम गर्ने गरेको प्रहरीको दाबी छ।  

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका लागि अलीसहितको गिरोह नै लागेको र घटनामा संलग्न अन्यको खोजी भइरहेको डिएसपी थापाले बताए। पक्राउ परेका अलीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासनबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

रूपन्देहीको बुटवल स्थित मोतिपुरमा नदि उकास क्षेत्रमा निर्माण गर्ने भनिएको मोतिपुर औधोगिक क्षेत्रको जग्गामा टहरा बनाई कब्जा गर्ने समूह र प्रहरीबीच गत असोज २४ गते झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चारजना सर्बसाधारणको ज्यान गएको थियो। 

१८ जना सर्वसाधारणसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेमध्ये चारजना प्रहरीको अहिले पनि गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App