९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने गिरोहका नाइके पक्राउ

चार जनाको ज्यान जाने गरी भएको बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न स्थानीयलाई उक्साउने, समूह गठन गर्ने, बैठक भेला गरी जग्गा कब्जाको योजना बनाएको आरोपमा प्रहरीले कपिलवस्तुको शुद्धोधन गाँउपालिका ६ स्थायी ठेगाना भइ बुटवलको देवीनगरमा डेरा गरी बस्ने ४४ वर्षे साविर अलि मुसलमानलाई पक्राउ गरी सार्वजनिक गरेको हो। राजु आलम नामबाट परिचित अलीलाई प्रहरीले कात्तिक १ गते राती बुटवल ११ देविनगरस्थित डेराबाट नियन्त्रणमा लिएर मंगलबार सार्वजनिक गरेको हो।  

प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्ने लगायतका कामको नेतृत्व गरेका  थिए। अलीको डेराबाट तीन थान माइन्युटिङको प्रतिलिपि, टोली गठन गरेका कागजात, सम्बन्धित व्यक्तिहरुका फोन नम्बर, बस्ती विकासको सहयोग रसिद सहितका १३ थान कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए।  

अली सहितका अन्य केही व्यक्तिहरुले योजनाबद्ध ढंगबाट सरकारी जग्गा अतिक्रमणको धन्दा चलाउने र सर्वसाधारणबाट अवैध रुपमा पैसा असुल उपर गर्ने गरेको आशंकामा प्रहरीले अन्य केही व्यक्तिहरुको पनि खोजी गरिरहेको जनाएको छ।

अलीले यसअघि अन्य क्षेत्रमा पनि सुकुम्बासी क्षेत्र रहेको स्थानमा जग्गा अतिक्रमणका लागि स्थानीयलाई उचाल्ने, सुकुम्बासी जग्गा दिलाइदिने प्रलोभनमा पैसा असुल्ने लगायतका काम गर्ने गरेको प्रहरीको दावी छ।  

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका लागि अली सहितको गिरोह नै लागेको र घटनामा संलग्न अन्यको खोजी भइरहेको  डिएसपी थापाले बताए।

पक्राउ परेका अलीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति सुरक्षा बिरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासनबाट दश दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए।

रुपन्देहीको बुटवलस्थित मोतिपुरमा नदी उकास क्षेत्रमा निर्माण गर्ने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाइ कब्जा गर्ने समूह र प्रहरीबीच गत अशोज २४ गते झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जना सर्बसाधारणको ज्यान गएको थियो।

१८ जना सर्बसाधारणसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते मध्ये ४ जना प्रहरीको अहिले पनि गम्भिर अवस्थामा काठमाडाँमा उपचार भइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App