coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटाको चौबिसेमा पहिरोले ६ जनाको मृत्यु, ६ जना घाइते

फाइल तस्बिर

धनकुटाको चौबिसे गाउँपालिका १ स्थित गढिरेमा गए राती पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दशैंमा पाहुना आएका ३ जनासहित ६ जनाको मृत्यु भएको हो। डिएसपी दिपककुमार रायका अनुसार राती करिब १२ बजेतिर पहिरो गएको थियो। पहिरोले घरमूली ६० वर्षीय भीमबहादुर श्रेष्ठ, नाती ९ वर्षीय विनोद श्रेष्ठ, नातिनी ५ वर्षीय निर्जला श्रेष्ठको मृत्यु भएको छ भने पाहुना आएका झापाको दमक नगरपालिका १ का ३९ वर्षीय भतिज सञ्जिव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठ रहेका छन्।  

यसैगरी, पहिरोमा परेर ५४ वर्षीया गणेशकुमारी श्रेष्ठ (मृतक भीमबहादुरकी श्रीमति), छोरा ३१ वर्षीय छोरा भेषबहादुर, २८ वर्षीय चन्द्रबहादुर, २९ वर्षीया लिला श्रेष्ठ, सञ्जिवकी श्रीमती ३३ वर्षीया उषा श्रेष्ठ र छोरा ११ वर्षीय सञ्जाल श्रेष्ठ घाइते छन्।

घाइतेहरुमध्ये पनि लिला, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ गम्भीर घाइते भएको डिएसपी रायले जानकारी दिए। ‘घटनास्थलमा राती नै प्रहरी टोली पुगेर घाइतेहरुको उद्धार गरेको छ। घटनास्थलमा नै स्वास्थ्य केन्द्रको टोली लगेर प्राथमिक उपचार भइरहेको छ,’ डिएसपी रायले भने, ‘गम्भीर घाइतेहरुलाई अस्पतालसम्म लैजाने पहल भइरहेको छ।’

हिजो रातीदेखि नै विद्युत अवरुद्ध भएको कारण पनि घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन। ठाउँठाउँमा पहिरो र खोलाले बाटोमा क्षति पुगेको कारण पनि समस्या भइरहेको डिएसपी रायले बताए।

घटनास्थल गाउँपालिका केन्द्रबाट करिब २७ किलोमिटरको दूरीमा छ। घटनास्थलमा अहिले गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालसहितको टोली पनि गइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App