coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीको पूर्वी क्षेत्रमा पाँच हजार घरपरिवार विस्थापित

कैलालीको पूर्वी भेगका झण्डै पाँच हजार घरपरिवार बाढीको चपेटामा परेका छन्। कर्णाली नदीमा आएको बाढीले थुप्रै गाउँ डुबानमा पारेको छ। विभिन्न स्थानमा तटबन्ध भत्काएर नदी गाउँ पसेको छ।

बाढीले सबैभन्दा धेरै टीकापुर नगरपालिकाको दक्षिणी क्षेत्रलाई प्रभावित पारेको छ। विपद व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले नगरपालिकाभित्र झण्डै ३ हजार घरपरिवार प्रभावित भएको बताइन्। उनले दक्षिणी भेगको वडा नं. ७ र ८ मा धेरै घरपरिवार विस्थापित भएको जानकारी दिइन्।

बाढीले सूर्यपुर, बसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटा लगायतका गाउँमा बढी असर पारेको छ। उनका अनुसार बाढीले विस्तापित हुने घरपरिवारको यकिन विवरण आउन सकेको छैन। अहिले मानिसहरु सुरक्षित स्थानमा सरेका छन्। चौधरीले बाढीका कारण कुनै मानवीय क्षति भने नभएको बताइन्।  

टीकापुर बजारको मुख्य भागमा अहिले बिहान बाढी पसेको छ। जमरा कुलोमा पानीको सतह बढेपछि बाढी बजार क्षेत्रमा पसेको हो। स्थानीयका अनुसार बजार क्षेत्र रहेको ब्लक नं. ए, बी, सी, डी, १४ मा बाढी पस्न थालेको छ। जमरा कुलो नजिक रहेका बस्तीमा हिजो रातिबाटै बाढी पसेको छ।  

बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ।  

बाढीबाट वडा नं. ५ का सय बढी परिवार बसन्तास्थित त्रिभुवन राष्टिय माविमा सारिएको छ भने वडा नं. ८ को वनगाउँ, अर्नुवा क्षेत्रका शय बढी परिवारलाई राष्टिय निमावि सूर्यपुरमा सारिएको छ।  

त्यस्तै जानकी गाँउपालिकामा कर्णाली नदीको भँगालो कुलरीया र जमरा कुलो हुँदै बस्तीमा पसेको छ। चिसापानी नजिकै रानी जमरा कुलरीया सिँचाई आयोजनाको नहरको बाँध फुटेर जानकी गाउँपालिकाका मुर्तीया, धनुवाफाँटा, कुन्ती, पूर्व खैरीफाँटा, जगतपुर, लायकपुर लगायतका गाउँमा असर पारेको छ।  

विपद् व्यवस्थापन शाखा प्रमुख नेत्र न्यौपानेले झण्डै एक हजार घरपरिवार बाढीले विस्तापित भएको जानकारी दिए। उनका अनुसार वडा नं. ३, ६ र ९ मा बाढीले धेरै क्षति पुर्याएको छ। उनले बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र खाद्यान्नको जोहो गर्ने काम भैरहेको बताए।  

बाढीले लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका समेत केही बस्तीमा क्षति पुर्याएको छ। ती ठाउँको यकिन विवरण आउन सकेको छैन। कतिपय गाउँका बासिन्दासँग सम्पर्क समेत हुन सकेको छैन।  

बाढीले हजारौं विघा क्षेत्रमा लगाइएको धानखेती बगाएको छ। कर्णाली नदीमा रातिको समयमा पानीको सतह केही कम भए पनि विहान फेरि बढेको छ। चिसापानी जल मापन केन्द्रका गेजरिडर पार्वती गुरुंगले दिएको जानकारी अनुसार नदीमा पानीको सतह विहान ६ बजे १२.४० मिटर पुगेको छ। नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। 

प्रकाशित: ३ कार्तिक २०७८ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App