१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल विषम मौसमका घटना छिटोछिटो देखिनुमा जलवायु परिवर्तन प्रमुख कारक हुन सक्ने बताउँछन्। ‘कति प्रतिशतले जिम्मेवार छ भनेर यकिन गर्न अध्ययन हुन आवश्यक होला तर यस्ता विपद्का लागि जलवायु परिवर्तन प्रस्ट हिसावले जिम्मेवार छ,’ उनी भन्छन्। 

अबको केही दिनमा बेलायतको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुन लागेको प्रसंग जोड्दै उनी नेपालले जलवायुजन्य विपद्ले निम्त्याउने क्षतिको मुद्दा उठाउन आवश्यक रहेको औंल्याउँछन्।

पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहे पनि जलवायुजन्य जोखिममा रहेका राष्ट्रको सूचीमा नेपाल अग्रपंक्तिमा आउँछ। 

नेपालका हिमाली क्षेत्रमा देखिएको ‘विषम वर्षा’, वनजंगलमा भीषण डढेलो, पहाडी तथा हिमाली क्षेत्रमा बाढीपहिरो, तराई क्षेत्रमा बाढी, डुबान तथा सुख्खापनजस्ता प्राकृतिक विपद्का घटनाको प्रत्यक्ष सम्बन्ध जलवायु परिवर्तनसँग रहेको मानिएको छ।

‘मौसमी विषमताका कारण कृषि क्षेत्र धेरै जोखिममा परेको छ र विपन्न किसान यसको वढी मारमा छन्’, पोखरेल भन्छन्। वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था प्रकृति रिसोर्सेस सेन्टरका निर्देशक राजु पण्डित क्षेत्री जलवायु परिवर्तनसँग जुध्न र अनुुकूलित हुने कार्यमा प्राथमिकता दिन आवश्यक रहेको ठान्छन्। उनी मौसमको पूर्वानुमान गर्न सक्ने क्षमता विस्तार तथा सूचना प्रवाह सुदृढ पार्न सके हानि कम गर्न सकिने बताउँछन्।

नेपालमा मात्र नभएर विषम मौसमका घटनाका कारण भारतका विभिन्न राज्यमा पनि बाढी, पहिरो तथा डुबानका घटना भएका छन्। भारतीय समाचार माध्यमका अनुसार केरलामा बाढीका कारण २५ जनाको मृत्यु भएको छ भने उत्तराखण्डमा १६ जनाले ज्यान गुमाएका छन्। 

गत अगस्टमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आइपिसिसी) ले सार्वजनिक गरेको वैज्ञानिक प्रतिवेदनले समेत जलवायु परिवर्तनका कारण जल, थल र वायुमा असर देखिएको, पृथ्वीको तापमान अपेक्षा गरेभन्दा अधिक बढेको, तातो हावा, अत्यधिक वर्षा, खडेरी, अनिकाल तथा बाढीको घटना विश्वव्यापी रूपमा बढेको देखाएको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App