८ वैशाख २०८१ शनिबार
समाज

गोरखाका गाडी खचाखच, सिट पाउनै मुस्किल

गोरखा सदरमुकाममा यात्रुको भिडभाड। तस्विरः नरहरि सापकोटा

गोरखाको ग्रामिण भेगबाट सदरमुकाम आउने र गोरखाबाट बाहिरिने गाडीमा यात्रु खचाखच छन्। गाडीको संख्या भन्दा यात्रु धेरै हुँदा घण्टौँ पर्खनुपरेको गुनासो यात्रुहरुको छ।

काठमाण्डौँ, चितवन, पोखरा जाने गाडीमा धेरै भिड छ। गोरखा सदरमुकामको हरमटारी, बसपार्क, घ्याम्पेशालचोक, बाह्रकिलो, घ्याल्चोक, पालुङटार लगायत ठाउँमा चल्ने यात्रुबाहक सवारी साधन सबै भरिभराउ छन्। गोरखा सदरमुकामबाट काठमाण्डौँ हिडेका रामकृष्ण थापाले भने ‘दुई घण्टा भयो गाडी पाएको छैन, बाटोबाट टिकट काउन्टरमा फोन गरेको थिएँ, सबै टिकट सकियो भने।’  

टिका थाप्न चितवन हिडेकी सन्तोषी बिक उभिएर भएपनि यात्रा गर्ने सोचमा सडक छेउमा गाडी पर्खिंरहेकी थिईन। दशैँको तेस्रो दिन आफन्तकहाँ टिका लगाउने आउजाउ गर्ने र आजबाट कार्यालयहरु पनि खुल्ने भएकाले टिका थाप्ने हिड्ने, काममा हिड्ने र दशैँ मनाउन गाउँ गएकाहरु फर्कदाँ यात्रुको चाप बढेको व्यवसायी बताउँछन्।  

दारौँदी यातायात सेवा प्राली र पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालीले टिकट काउन्टर आजदेखि खोलेका छन्। तर टिकट छिनमै सकिएको भन्दै यात्रु फर्काउने गरेका छन्। यात्रुले बिहानैदेखि टिकट पाएका छैनन्। ‘काउन्टर खोल्नेबित्तिकै यात्रुको भिड लाग्यो, दिउँसो तीन बजे सम्मको टिकट बिहान ८ नबज्दै सकियो’ माईक्रोबसको काउन्टरका कर्मचारी कृष्ण कोईरालाले भने।  

ग्रामिण भेगबाट सोझै काठमाण्डौँ जाने गाडी पनि खचाखच छ। कतिपयले गाडी नपाउँदा महँगो भाडा तिरेर रिजर्भ गर्नुपरेको बताएका छन्। माईक्रोबसहरुले पनि तोकिएको भन्दा धेरै भाडा लिएको गुनासो यात्रुको छ। ट्राफिक प्रहरीले भने बढी भाडा लिएमा तत्काल खबर गर्न र ति सवारी साधनलाई कारवाही हुने जनाएको छ। ट्राफिक अशोक बिष्टले भिडभाड बढेसँगै निग्रानी बढाइएको बताए। ‘सवारी साधनको चाप पनि अत्याधिक बढेको छ’ उनले भने।  

जिल्ला प्रहरी कार्यालय गोरखाले यात्रुको सजिलोका लागि हरमटारीचोक, बाह«किलो, अबुवा जस्ता नाकामा हेल्प डेक्स संचालन गरेको छ। 

प्रकाशित: ३१ आश्विन २०७८ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App