२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बज्जिका संगमले मनायो छैटौँ वार्षिकोत्सव

भाषा र साहित्यको विकासको लागि क्रियाशील बज्जिका साहित्य संगम रौतहटले छैटौँ वार्षिकोत्सव मनाएको छ। युवा समाजसेवी अनिलकुमार यादवको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सवमा बज्जिका भाषाका अभियन्ता तथा साहित्यकारहरुको सहभागिता रहेको थियो। युवा समाजसेवी यादवले बज्जिका मातृभाषाको विकासको लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।  

कार्यक्रममा बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साह, बज्जिका प्रचारप्रसार समिति रौतहटका संयोजक योगेन्द्रप्रसाद यादव, भवानी दुर्गा बज्जिका पत्रकारिता पुरस्कारका संस्थापक बृजकिशोर यादव, सामुदायिक रेडियो प्रसारक संघका रौतहट संयोजक रेवन्त झा, बज्जिका शिरोमणि साहित्यकार सञ्जय साह मित्र, बज्जिका भाषा समृद्धि समाज सर्लाहीका अध्यक्ष जियालाल राय, बज्जी साहित्यिक त्रैमासिकका मनमोहनसिंह मनोहर, राष्ट्रिय जनगणना २०७८ का प्रशिक्षक प्रभु राउत पटेल, बज्जिका एफएम रौतहटका प्रमुख दिनेश संगम लगायतले मन्तव्य व्यक्त गरेका थिए। उनिहरुले महोत्तरी, सर्लाही, रौतहट र बारामा बोलिने स्थानीय मातृभाषा बज्जिकाको विकासको लागि सबै एकजुट हुनुपर्ने आवश्यतामाथि जोड दिए।  

प्रदेशको तेस्रो ठूलो भाषाको रुपमा पछिल्लो जनगणनामा देखिएको बज्जिका भाषालाई भाषा आयोगले प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा त्यसलाई लागू गराउन राजनीतिकर्मी र सञ्चारकर्मीले सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताइएको थियो।

आयोजक संस्थाका अध्यक्ष साहित्यकार किशुनदयाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामअधार पासवानले एक वर्षमा संस्थाले गरेको कार्यको प्रगति विवरण प्रस्तुत गरेका थिए। जनगणनालाई सबैले सफल बनाउन आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा पनि वक्ताहरुले जोड दिएका छन्।

प्रकाशित: २६ आश्विन २०७८ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App