१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिटिजन्स बैंकमा लुटपाट, गार्डमाथि गोली प्रहार

लुटेरा समूहले सोमबार मोरङको धनपालथान गाउँपालिस्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंक लुटेको छ। लुटेरा समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

सिटिजन्स बैंक कर्सिया शाखामा दिउँसो ४ बजेतिर लुटेरा समूहले बैंकमा लुटपाट गरेको बताइएको छ। एक कर्मचारीका अनुसार दिउँसो ४ बजेतिर लुटेरा समूहले बैंकमा लुटपाट गरेको हो। उनीहरुले कति रकम लुटे भन्ने अहिलेसम्म यकिन भइसकेको छैन। बैंकको गार्डलाई गोली प्रहार गरी लुटेरा समूहले बैंकमा प्रवेश गरेको र लुटपाट गरेको कर्मचारीले बताए।  

‘हामी सबै बैंकभित्र काम गर्दै थियौं,’ ती कर्मचारीले भने, ‘एक्कासी उनीहरुले गार्डमाथि गोली प्रहार गरेको आवाज सुन्यौं। उनीहरुको समूह बैंकभित्र पसेर कति लुटपाट गरे हिसाब गरेपछि मात्र भन्न सकिन्छ।’ अन्य बैंकका कर्मचारीलाई केही भएको छैन भने गार्ड शीतल कुँवरको घाँटीको पछाडिको भागमा गोली लागेको छ।  

लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षा गार्डले रोक्ने प्रयास गर्दा उनलाई लुटेरा समूहले चलाएको गोली लागेको छ। ‘५/६ जनाको समूह बैंक लुट्ने उद्देश्यका साथ आएका रहेछन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘लुटेरा समूहले गार्ड शीतल कुवरलाई गोली प्रहार गरी घाइते बनाएरभित्र प्रवेश गरेका रहेछन्। बैंकबाट कति रकम लुटियो भन्ने अहिले जानकारी छैन। बैंकका कर्मचारीले हिसाब गरेपछि मात्रै खुल्छ।’

डिएसपी श्रेष्ठका अनुसार घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको र उनीहरु भारतीय वा नेपाली को हुन् भन्ने पहिचान खुलिसकेको छैन। उनले गार्डको विराटनगरस्थित न्यूरो अस्पतालमा घाँटीको पछाडिपट्टि लागेको गोली निकालेर उपचार भइरहेको र खतरा बाहिर अवस्थामा रहेको बताए। अन्य संलग्नको खोजी कार्य भइरहेको र पक्राउ परेकालाई रंगेलीमा राखेर अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले बताए।    

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भारतको अररिया जिल्ला विपुरदेखिका ३२ वर्षीय सुनील यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगरस्थित मुनालपथका ३२ वर्षीय श्याम मुखिया पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये विजयको बायाँ तिघ्रामा गोली लागेको छ। प्रहरीले उनीहरुलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकाबाट पक्राउ गरेको हो। बैंक लुट्ने प्रयास असफल भएपछि को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा चढेर भागेका थिए। लुटेरा समूहले प्रयोग गरेको पेस्तोल खैरवनास्थित बाँझ झ्याङबाट प्रहरीले बरामद गरेको छ।  

‘बैंकमा दुई गोली चलेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘लुटेरा समूहले पेस्तोलबाट सुरक्षागार्डलाई गोली प्रहार गरेको र गार्डको घाँटीको पछाडिपट्टि दुई वाट प्वाल रहेका छन्। ती मध्ये एउटामा गोली छैन भने अर्कोबाट एउटा गोली डाक्टरले निकालेको छ।’

१ नम्बर प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा हुन सक्ने आपाराधिक घटनालाई ध्यानमा दिँदै विशेष सुरक्षा योजना लागू गरे पनि मोरङमा एक साताभित्र ३ वटा लुटपाटका घटना भएका छन्।

मोरङको पथरीशनिश्चरे, विराटनगर र कर्सियामा दिउँसै लुटपाट भएका हुन्। प्रहरीले पथरी र विराटनगरमा भएका लुटपाटमा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन। विराटनगरमा वडा प्रहरी कार्यालयको करिब २० मिटरको दुरीमा रहेको एउटा व्यापारी फर्ममा दिउँसै ३ जना लुटेरा समूहले पेस्तोल देखाउँदै लुटपाट गरेका थिए। प्रदेश प्रहरी कार्यालयले २४ वटा सुरक्षाको रणनीति बनाएर विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। तर, विशेष सुरक्षा योजनाअन्तर्गत थप ६ हजार ९ सय २३ जना सुरक्षाकर्मी परिचालन गरे पनि दिउँसै मुख्य बजार क्षेत्र हतियारधारी समूहले लुटपाट मचाउनुले सुरक्षा संयन्त्रलाई ठूलो चुनौती दिएको छ।

प्रकाशित: २५ आश्विन २०७८ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App