coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसरीबाट अपहरण गरि भारत पुर्‍याइएका बालककाे १० घण्टापछि सकुशल उद्धार

अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएपछि। तस्बिर: जिल्ला प्रहरी कार्यालय सुनसरी

सुनसरीको कोशी गाउँपालिकाबाट अपहरण गरि भारत पुर्‍याइएका एक बालकलाई सुनसरी प्रहरीले सकुशल उद्धार गरेको छ। बिहीबार दिउँसो करिब ३ बजेतिर सुनसरीको कोशी गाउँपालिका ७ स्थित नेपाल भारत सिमान नजिकैबाट १३ वर्षीय दिपेन सदा अपहरणमा परेका थिए।

उनी अपहरणमा परेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर करिब १० घण्टा पछि बालकलाई सकुशल उद्धार गरि नेपाल ल्याएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

उनका अनुसार गए राती १ बजेर ५० मिनेटमा भारतबाट सकुशल उद्धार गरेर नेपाल ल्याउन प्रहरी सफल भएको हो। ‘नेपालबाट करिब ३५ किलोमिटर दक्षिणमा लगेर बालकलाई राखेको रहेछ, हाम्रो टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर सकुशल उद्धार गरि ल्याउन सफल भएको छ,’एसपी थापाले भने। प्रहरीका अनुसार अपहरणमा परेको बालक भारतको सुपौल जिल्ला, ग्राम पंचायत बदबदैपुर वडा नं ६ बैरयाकमलबाट उद्धार गरिएको हो। उनको अपहरणमा बैरयाकमाल (भारत) का मुकुम मिँयाको प्रमुख हात रहेको पनि प्रहरीले जनाएको छ।

उनले नेपालबाट ज्याला मजदुरी गर्ने कामदारहरु भारतको विभिन्न सहरमा लैजाने ठेकेदारी काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलाई नेपालबाट कामदर पठाइदिने भन्दै कोशी गाउँपालिका ७ कै भुल्टन सदालगायत ५ जनाले अग्रिम २ लाख रुपैया पैसा लिइसकेका थिए। उनीहरुले मिँयालाई कामदारहरु पठाउन नसकेको र अग्रिम लिएको पैसा पनि फिर्ता नदिएपछि सोही गाउँका बालकलाई अपहरण गरि पैसा उठाउने प्रयास गरेको एसपी थापाले जानकारी दिए। ‘कामदार पठाइदिने भनेर २ लाख लिएपनि मान्छे नपठाइदिएको र पैसा फिर्ता पनि नदिएको खुलेको छ।

मुकुम मिँया ७ दिनसम्म नेपाल आएर बसेको रहेछ,’एसपी थापाले भने,‘पैसा नदिएपछि सिमा पारी सामान किन्न गएको बेला भुटन सदाकै गाउँको बच्चा हो भन्ने थाह पाएपछि अपहरणमा गरेको हो।’ प्रहरीका अनुसार अपहरणको लागि मुकुम मिँयासहितको समुह २ वटा मोटरसाइकलमा आएका थिए। उनीहरुले बालकलाई बीचमा राखेर भारततर्फ लिएर गएको र करिब ३५ किलोमिटर दक्षिण मिँयाकै घरमा लगेर राखेको अवस्थामा उद्धार गरेको सुनसरी प्रहरीले जनाएको छ।

अपहरण पश्चात उनीहरुले बालकलाई कुटपिटसमेत गरेको पीडित बालकले प्रहरीलाई बताएका छन्। अपहरण गरेपछि मिँयाले फोन गरेर ‘तिमीहरुको बच्चा यहाँ छ, चाहिन्छ भने पैसा लिएर आइज’ भनेका थिए। त्यसपछि अपहरित बालकको अभिभावक प्रहरीसमक्ष पुगेका थिए। प्रहरीले अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको छ भने घटना सम्बन्धमा अपहरण तथा शरीरबन्धक शिर्षक अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ। घटनामा संलग्न अपहरणकारीहरु भने पक्राउ परेको छैन।

अपहरणकारी भारतीय भएको र बच्चालाई पनि उतै राखेको कारण पक्राउ गर्न सम्भव नभएको एक प्रहरी अधिकृतले जानकारी दिए। ‘बच्चालाई सकुशल उद्धार गरेर ल्याउन सक्यौ। अपहरणकारीलाई पक्राउ गर्न अर्को देश भएकोले सम्भव भएन,’उनले भने।

प्रकाशित: २२ आश्विन २०७८ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App