१ नम्बर प्रदेश प्रहरी कार्यालयले चाडवाडलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरेको छ। प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले सुरक्षाकर्मीको सहज पहुँच र सर्वसुलभताको वातावरण बनाउँदै पूर्ण रुपले शान्ति सुरक्षाको अनुभूतिका साथ पर्व मनाउन प्रदेशभर विशेष सुरक्षा योजना लागू गरेको गरिएको छ। प्रदेशभर विशेष सुरक्षा योजना लागू गर्दै जनपथ प्रहरी र ट्राफिक प्रहरीलाई व्यापक परिचालन गरेको जनाएको छ। चाडवाडमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, अवैध रक्सीको कारोबार, आर्थिक कारोबार हुने स्थानको भीडभाड, आपाराधिक घटना, सवारी दुर्घटनालगायतका अपराधलाई न्यूनीकरण गर्न सुरक्षाकर्मी खटाइएको डिआइजी जिसीले बताए।
‘सुरक्षा व्यवस्थालाई चुस्त राख्न राजमार्गमा सुरक्षार्थ ट्राफिक स्कर्टिङ, पैदल गस्ती, क्वीक रेस्पोन्स टिम, यात्रु सहायता कक्षलगायतको व्यवस्था मिलाएका छौं,’ डिआइजी बिसीले भने, ‘शान्ति सुरक्षा र भयरहित तवरले उल्लासपूर्ण वातावरणमा चाडपर्व मनाउने अवसर सिर्जना गर्न विशेष सुरक्षा व्यवस्था मिलाएका छौं।’ २४ वटा विभिन्न रणनीतिका साथ सुरक्षा संयन्त्रलाई परिचालन गर्दै प्रदेशवासीलाई ढुक्कका साथ चाडपर्व मनाउने सुरक्षा व्यवस्था मिलाइएको छ।
८६ वटा गाडी गस्ती, २ सय ७८ वटा क्वीक रेस्पोन्स टिम, २ सय ५ वटा पैदल गस्ती, ३ सय ९७ स्थान पेकट, २० स्थानमा ट्राफिक स्कर्टिङ र ४१ स्थानमा यात्रु सहायता कक्षमार्फत सुरक्षाको व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। धेरै भीडभाड हुने स्थान, बैंक तथा वित्तीय र आर्थिक कारोबार हुने स्थान, धार्मिक स्थल, पर्यटकीय स्थललगायतका आपराधिक क्रियाकलाप हुन सक्ने स्थानको पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेको डिआइजी बिसीले बताए। विशेष सुरक्षा योजनाअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा ६ हजार ९ सय २३ जना सुरक्षाकर्मी परिचालन गरिसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: २१ आश्विन २०७८ १३:४६ बिहीबार