१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

चन्द्रपुरको जंगल क्षेत्रमा पर्ने लमाहा पुलभन्दा पश्चिम कालीखोला पुलको नजिकै पूर्व–पश्चिम राजमार्गमा नै रायमाझीमाथि बाघले आक्रमण गरेको हो। साइकलमा घाँस दाउरा लिन जंगलमा गइरहेको अवस्थामा बाघले आक्रमण गरी रायमाझीलाई घाइते बनाएको हो।

सात जनाको समूहमा जंगलमा घाँस दाउरा लिन साइकलमा गइरहेको बेला रायमाझीले बाघ देखेर भाग्न खोजेका थिए। रायमाझी भाग्न लाग्दा बाघले पछाडिबाट आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि आफूसित भएको बन्चरोले बाघलाई हानेर आफू भाग्न सफल भएको रायमाझीले बताएका छन्।  

बाघको आक्रमणबाट घाइते रायमाझीको उपचार चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा भएको छ। रायमाझीको दुवै हातमा चोट लागेको देखिएको छ। हालै सम्पन्न बाघ गणनामा रौतहटको जंगलमा चार वटा वयस्क बाघ देखिएको सम्बन्धित निकायले जनाएको थियो।

रौतहटको जंगलमा बाघ रहेको पुष्टि भएपछि मानिसमाथि भएको यो पहिलो आक्रमण हो। केही महिना अघि चन्द्रपुर ६ का एक युवक बाघको आक्रमणबाट मारिएका थिए भने अन्य समयमा गरी चार जना घाइते भएका थिए। बिहीवार बाघले पुनः आक्रमण गरेपछि जंगल छेउछाउका बासिन्दामा त्रासको वातावरण रहेको छ।  

प्रकाशित: २१ आश्विन २०७८ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App