coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘चिनेजानेकाले जबरजस्ती यौन उद्योगमा संलग्न गराए’

मानव बेचबिखनमा परेका महिला, किशोरी र बालबालिकालाई उद्धार गरेर संरक्षण दिँदै आएको माइती नेपालमा ११ महिने छोरोसहित भेटिएकी १६ वर्षीया मनीषा थापा (नाम परिवर्तन) आफ्नो भविष्यलाई लिएर अन्योलमा छिन्। ‘मैले काम गरिनँ भने दुधे छोरो भोकै पर्छ,’ मंलगबार माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्कासँग उनी भन्दै थिइन्, ‘अहिले पढाइभन्दा पनि सिलाइबुनाइ वा ब्युटी पार्लरसम्बन्धी सिप सिक्न पाए छोरो पाल्न सक्थें होला।’  

काठमाडौंको मूलपानीबाट जबरजस्ती यौन उद्योगमा लगाइएका १६ देखि १९ वर्ष उमेर समूहका उनीसहित पाँच किशोरीलाई केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा माइती नेपालले आइतबार उद्धार गरेको थियो। 

गत असोज १० गतेदेखि मूलपानीस्थित तिवारी टोलमा बस्ने रामशरण गोतामेको घरमा सहयोगीको रूपमा काम सुरु गरेकी उनलाई प्रलोभनमा पारेर गोतामेकी पत्नी सीता गोतामेले जबरजस्ती यौन उद्योगमा लगाएकी थिइन्।

‘एक्कासि छोरी बिमारी भएपछि मैले ज्याला मजदुरीको काम खोजिरहेकी थिएँ,’ उनले भनिन्, ‘मेरा बुवाको साथीसमेत रहेका गोतामे अंकलले घरको भाँडा माझ्ने काम भनेर भनेका थिए। तर आन्टीले पैसा धेरै कमाइन्छ भनेर जबरजस्ती यौन उद्योगमा लगाइन्।’ दिनहुँ कम्तीमा चार जना ग्राहकसँग जबरजस्ती बस्नुपरेको गुनासो उनले गरेकी थिइन्।

गाउँले साथीको लहलहैमा लागेर स्कुलको पढाइ उपुरो छाडेर दुई वर्षअघि मनीषा काभ्रेबाट काठमाडौं आइपुगेकी थिइन्। सोही साथीको सल्लाहअनुसार उनले आफूभन्दा केही वर्ष जेठो किशोरसँग विवाह गरेकी थिइन्।

छोरी सुत्केरी हुने खबर सुनेर कोरोना महामारीको जोखिम अवस्थामा पनि उनका आमाबुवा काठमाडौं आइपुगेका थिए। ओखलढुंगा घर बताउने उनका पतिसँग उनको सम्पर्क नभएको पाँच महिना भइसक्यो। पति बेपत्ता भएको रिपोर्ट उनले महानगरीय प्रहरी वृत्त बौद्धमा गराएकी थिइन्। ज्याला मजदुरी गरेर आमाबुवाले उनीहरूको हेरचाह गरिरहेका थिए। 

एक्कासि दुधे छोरो ज्वरोले थलिएपछि उनले पैसा जुटाउन कामको खोजी गरेकी थिइन्। बुवाका साथी रामशरणलाई भेटेर उनले काम मागेकी थिइन्। ‘दुधे छोरो बिमारी हुन थालेपछि काम गर्छु भन्दा बुवाले गाली गर्नुभएको थियो,’ उनले स्मरण गरिन्, ‘दुई महिनाअघि बुवाको साथी रामशरण अंकलसँग पहिलो पटक भेट हुँदा काम मागेकी थिएँ। तर उनकी पत्नीले प्रलोभन देखाएर जबरजस्ती यौन उद्योगमा संलग्न गराइन्।’  

पीडित किशोरीहरूले सोमबार महानगरीय प्रहरी वृत्त बौद्धमा सिन्धुपाल्चोक घर भई हाल मूलपानी, तिवारी टोलमा बस्ने ४० वर्षीया आरोपित सीता गोतामे र उनका पति रामशरण गोतामेविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले आरोपित गोतामे दम्पतीविरुद्ध आफ्नै घरमा कोठी सञ्चालन गरेको तथा नाबालक किशोरीहरूमाथि श्रमशोषण गरेको जनाउँदै जाहेरी दिएका थिए।

आरोपित सीता गोतामेले मूलपानीस्थित आफ्नै घरमा सञ्चालन गरेको पुर्खौली गेस्ट हाउसमा विगत दुई वर्षदेखि जबरजस्ती यौन उद्योगमा संलग्न गराइएकी रामेछापकी १८ वर्षीया गायत्री विक (नाम परिवर्तन) ले एकै दिन १० जनासम्म जबरजस्ती यौन सम्पर्क गर्नुपरेको बताइन्। ‘म र अर्का दुई साथी उनको घरमा डेरा गरी बसेका थियौं,’ उनले भनिन्, ‘पैसाको प्रलोभन देखाएर यौन उद्योगमा जबरजस्ती संलग्न हुन बाध्य पारेकी थिइन्। 

यौन सम्पर्क राखेबापत सीता गोतामेले तीनदेखि पाँच सय रुपैयाँ दिने भनेर रासन र घरभाडामा कटौती गरेर ऋण थपिएको भन्दै तलब दिन्नथिन्। मैले उल्टो उनलाई १९ हजार रुपैयाँ तिर्न बाँकी रहेको बताउँदै यौन उद्योगमा जबरजस्ती संलग्न गराउने गर्थिन्।’ घरपरिवारको न्यून आर्थिक अवस्थाका कारण पढाइ छाडेर काम खोज्दै राजधानी आइपुगेका उनीहरू आरोपित गोतामेको सम्पर्कमा पुगेका थिए।  

माइती नेपालको तत्थांकअनुसार पछिल्ला वर्षमा नेपालभित्र नाबालक किशोरीहरू आन्तरिक बेचबिखन र जबरजस्ती यौन उद्योगमा संलग्न गराइएका छन्। गत वर्ष माइती नेपालले देशभित्र आन्तरिक बेचबिखन र जबरजस्ती यौन उद्योगमा संलग्न गराइएका ६० जना किशोरी र बालिकाहरूको उद्धार गरेको थियो। ‘नेपालभित्रै सञ्चालित मनोरञ्जन उद्योगमा जबरजस्ती नाबालक किशोरीलाई संलग्न गराइएको छ,’ माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले भने, ‘रेस्टुरेन्ट, मसाज सेन्टर, गेस्ट हाउस हुँदै अहिले घर भाडामा लिएर यौन व्यापार हुने गरेको छ। 

यस्ता घटनामा अधिकांश नाबालक किशोरीलाई जबरजस्ती संलग्न गराइएको छ। यो भयावह स्थिति हो।’ अधिवक्ता उमा तामाङका अनुसार नाबालक किशोरीलाई जबरजस्ती यौन उद्योगमा संलग्न गराउनेलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रकाशित: २० आश्विन २०७८ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App