६ वैशाख २०८१ बिहीबार
समाज

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ

एक सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ। उनीहरुले काठमाडौंको सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा भएको रकममा ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।  

पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ, हालका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर रहेका छन्।

यस्तै जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको ब्यूरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

उक्त सहकारीका सदस्यले बचत तथा मुद्दती खातामा जम्मा भएको रकम निकाल्न पटकपटक ताकेता गर्दा उपलब्ध नगराई ठगी गरेकोसमेत अनुसन्धानमा खुलेको छ। उनीहरुले बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधानविपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनामा लगानी गरेको र वेथिति बढ्दा उक्त लगानीबाट लाभसमेत प्राप्त गर्न नसकेको ब्यूरोले जनाएको छ।

कर्जा लगानी भई सम्पन्न गरिएका विभिन्न परियोजनाबाट निर्माण गरिएका संरचना बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशमा लगेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको आशङ्का पनि गरिएको छ। प्रहरीका अनुसार उनीहरुले सहकारी ऐन २०७४ को दफा ९१२२० बमोजिमको कसुर गरेको देखिन आएकाले बचतकर्ताको निक्षेपसमेत जोखिममा परेको छ। 

यसरी १३७  बचतकर्ताले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८३१ सङ्गठितरुपमा सहकारी ठगी गरेको प्रहरीले मुद्दा अघि बढाइएको छ। ब्यूरोले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणलाई पनि उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारवाहीको लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: १९ आश्विन २०७८ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App