७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आहाराको खोजीमा भालु बस्तीमा

आहाराको खोजी गर्दै भालु गाउँबस्तीतिर पस्न थालेपछि जुम्लाका गाउँमा त्रास फैलिएको छ। भालु गाउँमा पसेर मानिस माथि नै आक्रमण गर्न थालेको हो। आइतबार गुठिचौर गाउँपालिका ५ झारज्वालमा हिडिराखेको अवस्थामा भालुले एकजनामाथि आक्रमण गर्‍याे। भालुको आक्रमणबाट गुठिचौर गाउँपालिका ३ दामदासेका ६५ वर्षीया हिमा तामाङको मृत्यु भयो।

उनी कामको शिलशिलामा गाउँदेखि बजार आउँदै थिए। जंगल हुदै गाउँतिर झरेर गाउँ नजिकैको स्याउ बगैँचामा भेटिएको भालुलाई गाउँलेले लखेटेका थिए। गुठिचौर ३ का नरबहादुर बुढाले भने, 'भालु आहराको खोजीमा बस्तीतिर झरिरहेको छ। जसले मानिसमा त्रास फैलिएको छ। मानिस संग मुठभेड गरिरहेकोले एक्लै दुक्लै हिड्ने अवस्था छैन।’ उनले जुम्लामा पछिल्लो समय भालुको संख्यामा तीव्र वृद्धि भइरहेको हुन सक्ने बताए। उनले भने, ‘जिल्लाको सबै क्षेत्रमा भालु आतंक फैलिएको छ। भालु गाउँ पस्ने र मानिस माथि नै जाइलाग्न थालिसकेको छ। किसानले लगाएको अन्नपात सबै सखाप बनाउँदै गएको भेटिएको छ।’

प्रत्यक्षदर्शी स्थानीय नरदिप भण्डारी पछिल्लो समयमा गाउँबस्ती तिर भालु झर्न थालेपछि निकै त्रास फैलिएको बताउँछन्। उनले भने,‘ बगैँचामा घाँस काटिरहेको बेलामा झण्डै १० मिटरको दुरीमा मात्र टाढा थियौँ। भालु संग जम्काभेट नै भयो। धन्न बाँचे।’ गाउँपसेको भालु आफ्नो घरभित्र पस्न खोज्दा धपाएको उनले बताए।  उनले भने, ‘पहिले गाउँमा कुनै पनि जगली जनावर पस्न सक्दैनथ्ये। अहिले खुलेआम हिंस्रक भालु गाउँ प्रवेश गरेर वितण्डा मच्याइरहेको छ। अहिले गाउँवस्ती बन्यजन्तुदेखि असुरक्षित छन्।'

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्री आहराको खोजीमा भालु गाउँ पसेको हुन सक्ने बताउँछन्। उनले भने,‘जंगल दिनानुदिन विनास भइरहेको छ। भालुको आहराको रुपमा रहेको जडिबुटी पनि संकलन तीब्र भइरहेको छ। भालुले आहरा पाउँदैन। अन्तत गाउँमा प्रवेश गरेर मानिसलाई आक्रमण गर्छ। ’

गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा आउन नसक्ने देखिएपछि सुरक्षाकर्मीले गोली हानेर मारेका छन्। गाउँमा कोलाहल मच्चियो। भालुदेखि सुरक्षित हुन निकै कठिन बन्यो। भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन्। झन भालुले गाउँमै बसेर मानवीय क्षति गर्ने संकेत देखियो। भालु बहुला प्रकृतिको, नरभंक्षी प्रकारको थियो। अनि स्थानीय प्रशासनको आदेशमा भालु मारिएको डिभिजन वन कार्यालयका प्रमुख खत्री बताए।

उनले भने,‘स्थानीयले हिंस्रक भालु मार्नुपर्ने दवाव दिइरहेका थिए। भालु पनि मान्छे आक्रमण गरेको ठाउँ क्षेत्र भागिसकेको थिएन। खोल्सामा लुकेर बसेको अवस्था थियो। चहलपहल बढ्दै जाँदा आक्रमणको खतरा बढिसकेको थियो। ’यसअघि जुम्लाका खलंगा बजारमै भालु पसेर दुइ जनामाथि आक्रमण गरेको थियो। भालु बजार पसेर गाउँको एक घरमा लुकेको अवस्थामा फेला परेपछि मारिएको थियो। मानिसहरुको जनसंख्या बढीरहेको छ। जंगल जताततै जंगल फडानी भइरहेको छ। जंगलभित्रै मानिसहरुले घर टहरा बनाइरहेका छन्।

जंगली जनावरको वासस्थान उठाइदिएका छन्।  स्थानीय नरबहादुर बुढाले भने,‘मानविय कमजोरीका कारण भालु गाउँबस्ती तिर पस्न थालेको छ। अहिले मानिसले गरेको कमजोरीले मानिस नै भालुको शिकार बनिरहनु पर्ने अवस्था बनेको छ। वन्यजन्तुको संख्या त बढ्यो तर, वासस्थान मानिसहरुले भत्काइदिएका छन्। वन्यजन्तु संरक्षण नहुँदा गाउँबस्ती आसपासमा हिंस्रक जन्तु प्रवेश गरेर क्षति पुर्याइरहेका छन। गाउँमा दिनदहाडै भालु पस्न थालेपछि  त्रास फैलिएको छ। भालु आक्रमण गरेर नजिकैको झाँडीमा लुकेको रहेछ, प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले भने,‘नरभंक्षी हिंस्रक भालु मारिएको छ।’

भालुलाई अधिकतम बचाउने र जंगल तिर फर्काउने प्रयत्न भइरहेको थियो। तर भालुले धपाउन खोज्दा आतंक मच्याउने संभावना बढेपछि भालु मारीएको थियो। भालुले मानिसमाथि आक्रमण गरेकोे जानकारी पाउने वित्तिकै जिल्ला प्रशासन कार्यालय,नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई नियन्त्रणमा लिएर जंगलतिर पठाउने प्रयन्त गरिरहेको थियो। टोलीले भाुललाई सुरक्षित पुर्वक जंगलतिर लखेट्न खोज्दा सुरक्षाकर्मी माथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन सकिएको थिएन।

बौलाह र नरभंक्षी स्वभावको भालु देखेपछि गोली हानी मारीएको सुरक्षाकर्मीले जनाएका छन।  डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजङ्ग खत्री सुरक्षितस्थल तिर लखेट्न  खोज्दा समेत भालु गाउँ पसेर आतंक मचाउन थालेपछि गोली हानि मारीएको बताउँछन्। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम गोली हान्ने आदेश दिएको बताइन्। ऐनमा कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर गएर मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने बन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने व्यवस्था छ।

शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना  डिभिजन वन कार्यालयको सक्रियतामा मारीएको भालुलाई डिभिजन वन कार्यालयमा लिएर पशु प्राविधिकले मृत घोषित गरेका थिए। भालुले किसानले लगाएको अन्नवाली सखाप पार्ने,पशुवस्तु मार्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरिरहेको छ। जुन,जुलाई र अगस्ट महिनामा प्रजनन क्रिया चल्ने भएकोले पोथी भालु खोज्दै बस्तीतिर पसेको हुन सक्ने अनुमान गरिएको छ। उनले भने,‘यो बेला फलफुल र मकैको सिजन पनि भएकोले आहरा खोज्दै झरेको हुन सक्छ। भालु मानिस संग जम्काभेट भएपछि मात्र आफु सुरक्षित हुन आकर्मण गर्छ। यो घटना पनि त्यही हुन सक्छ।’

यो हिमाली कालोभालुको बसोबास क्षेत्र जुम्ला नै हो। तर कति छ भालुको संख्या अनुसन्धान हुन सकेको छैन। यो लजालु र डरालु स्वभावको हुन्छ। श्रवणशक्ति कम हुन्छ। सुग्ने शक्ति बढि हुन्छ।  यो भालु राति सक्रिय हुने र दिउँसो आइसोलेट भएर बस्छ।’ भालु मारेपछि यहाँका स्थानीयले शान्तिको सास फेर्न थालेका छन्।

प्रकाशित: १८ आश्विन २०७८ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App