२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपडा लोड भएको ट्याक्टर नियन्त्रणमा

भन्सार चेक जाँचपछि कपडा लोड गरेर गन्तव्यतर्फ जाँदै गरेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ।  

विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएको बिआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएर बुधबारसाँझ राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट चालक भारत जोगबनीका ३२ वर्षीय पंकज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए।

उनका अनुसार ट्याक्टरमा ३४ लाख मूल्य बराबरको कपडा लोड गरिएको थियो। ‘भिसिटिएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम)मा ट्याक्टरको नम्बर उल्लेख नभएको पाइएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ,’ एसपी पौडेलले भने, ‘कुनै कमजोरी भए÷नभएको विषयमा राजस्व अनुसन्धानलाई नै थाहा हुन्छ।’

भिसिटिएसअन्तर्गत महालबाहक सवारी साधन एक ठाउँबाट अर्को ठाउँमा सामान लिएर जाँदा बिलमा भएका सामानको परिणाम, मूल्य, गाडी नम्बर, चालकको नामलगायतका सबै विवरण खुलाएर अनलाइन सिस्टममा उल्लेख गरेको हुनुपर्छ। सशस्त्रले बुझाएको ट्याक्टरको नम्बर भिसिटिएस प्रणालीमा उल्लेख नभएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले बताए।

उनका अनुसार भिसिटिएसमा सामानको मूल्य, प्रकार, पान नम्बर, क्रेता र बिक्रेता फर्म, चालकको नाम, गाडी नम्बरलगायत उल्लेख हुनुपर्छ। तर सशस्त्रले नियन्त्रणमा लिएको ट्याक्टरको नम्बर उल्लेख नभएको पाइएको उनको भनाइ छ। तस्करीको कपडा भएकाले अनलाइन प्रणालीमा गाडीको नम्बर उल्लेख नगरेको हुनसक्ने अनुमान गरिएको छ।

राजस्व प्रमुख खड्काका अनुसार विराटनगर भन्सार कार्यालयबाट भन्सार जाँचपास गराएपछि कपडा लिएर ट्याक्टर गन्तव्यतर्फ लागेको पाइएको छ। तर प्रज्ञापनपत्रमा उल्लेख भएको गाडी नम्बर भिसिटिएसमा उल्लेख नहुनुलाई शंकास्पद मानिएको छ। आवश्यक अनुसन्धान सुरु गरेर सामान गणना गर्ने काम भइरहेको बताउँदै खड्काले कुनै कैफियत भेटिए कारबाही हुने बताए।  

प्रकाशित: १४ आश्विन २०७८ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App