coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्यामा संलग्न थप दुई जना पक्राउ

गत साउनमा मोरङको उर्लाबारीमा भएको छुरा प्रहार काण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये फरार भएका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई पक्राउ गरिएको हो। उनका अनुसार पक्राउ परेका दुवै जना अभिषेक चौधरी हत्या काण्डका मुख्य अभियुक्त हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काको टोलीले सीमावर्ती क्षेत्र मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई प्रहरीले मोरङ जिल्ला अदालतमा आइतबार पेस गरेको छ।  

फुटबल खेल्ने क्रममा दुई पक्षबीच भएको विवाद भई छलफलपछि मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले अभिषेकको हत्या गरेको प्रहरीको भनाइ छ। अनुसन्धानबाट लिम्बूद्वयको योजना र प्रत्यक्ष संलग्नतामा छुरा हानी चौधरीको हत्या गरिएको देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। १५ जनाको संख्यामा आएका समूहले साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीलाई छुरा प्रहार गरेका थियो। छुरा प्रहारबाट घाइते भएका चौधरीलाई तत्कालै झापाको विर्तामोडस्थित बि एन्ड सी अस्पताल पुर्याउना साथ मृत्यु भएको हो। अर्का सुशन उपचारपछि निको भइ घर आएका छन्। प्रहरीले यसअघि घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगरलाई पक्राउ गरिसकेको छ। घटनामा संलग्न ७ जना फरार नै छन्।  

हत्यामा संलग्नविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। यसअघि पक्राउ परेका निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि राकेश, हेमराज र योगेशलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १० आश्विन २०७८ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App