७ पुस २०८१ आइतबार
image/svg+xml ७:१२ पूर्वाह्न
समाज

भक्तपुरमा ठड्याइयो इन्द्रजात्राको यम द्यः

भक्तपुरका टोलटोलमा शनिबार यम द्यः (देवता) का रुपमा ठाउँंठाउँंमा ससाना लिंगो ठडाइएको छ। प्रत्येक वर्ष इनद्रजात्राको पहिलो दिन यहाँं यसरी नै लिंगोहरु उठाउने गरिन्छ। यसलाई स्थानीय नेपाल भाषामा यम द्यः (इन्द्र देवता) भनिन्छ। प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्यः (इन्द्रदेवता) उठाइन्छ। हप्ता दिनसम्म मनाइने जात्राको पहिलो दिन भक्तपुर नगरपालिका क्षेत्रका २१ टोलमा २१ वटा यस्ता लिंगोहरु उठाइएको बताइएको छ। तर पनि प्रत्येक वर्ष यो संख्या घट्दो छ।  

स्थानीय टोलबासी मिलेर यसरी यम द्यः उठाउने गरिन्छ। परम्परा अनुसार स्थानीय टोलबासीले यम द्यः शनिबार विहान उठाएका हुन्। करिव २० देखि ३० हात अग्लो हात भएका यम द्यःहरु नगरका ठाउँठाउँमा ठड्याइएका हुन्। नगरको सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायतका ठाउँठाउँमा यस्ता लिंगो उठाइएका छन्। यी सवै भक्तपुर नगरका मुख्य बजारका बाटाहरु हुन्।  

स्थानीयका अनुसार पहिलापहिला नगरका ३२ टोलमा ३२ वटा यस्ता लिंगो उठाइन्थे तर यी उठाउने गुठी (समूह) लगायतका निस्क्रियताका कारण यो संख्या निरन्तर घटिरहेको जनाइएको छ। पहिला यसैका लागि श्रोत भए पनि अहिले लिंगो उठाउने क्रम घटेको उनीहरुको भनाइ छ। उठाइएका यस्ता यम द्यः लाई दैनिक साँझ पूजाआजा गर्ने चलन छ। साँझ विशेष गरी महिलाहरु आरती दिई पूजाआजा गर्न पुग्छन्। यो क्रममा नगरभरिको वातावरण नै उल्लासमय हुन्छ।  

स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिका अनुसार यम द्यः ठड्याइएको पाँचौ दिन मुपात्र (राक्षस रुपी मानिस) लाई नगर परिक्रमा गराउने क्रम सुरु हुन्छ। साथै यही दिनहरुमा यामता (दियो लिएर हिड्ने) घुमाइन्छ। जात्राको अन्तिम तीन दिन नगरका छुटाछुटै स्थानहरुबाट दैनिक मुपात्र (राक्षस रुपी मानिस) र यामता (दियो लिएर हिँडने) निस्केर नगर परिक्रमा हुन्छ।  

जात्राको अन्तिम दिन पुलुकिसी (ऐरावत हात्ती) जात्रा हुन्छ। यो इन्द्रजात्रा अवधिभरको मुख्य आकर्षण हो। भक्तपुर नगरको बुलुचाबाट निक्लने पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ। त्यो दिन पुलुकिसी जात्रा हेर्न नगरभर ठूलो भीड लाग्ने गर्दछ।

भजन संस्कृति महागुथि भक्तपुरका अध्यक्ष जननीप्रसाद मुलका अनुसार यन्यापुन्ही (इन्द्रजात्रा) को अर्थ इन्द्रको जात्रा हो। उनका अनुसार परापूर्वकालमा एक दिन स्वर्गलोकका राजा इन्द्र आफ्नो आमाको पूजाका लागि मत्स्यलोक (पृथ्वी) मा पारिजात फूल लिन आएका थिए। यो क्रममा बगैंचाबाट पारिजात फूल चोर्दा उनी पक्राउमा परे। यसरी पक्राउ परेका इन्द्रलाई बाँंधेर राखियो। पछि इन्द्रको बाहन पुलुकिसी (हेरावत हात्ती अर्थात पुलुकिसी ) चढेर इन्द्रलाई लिएर स्वर्गमा फर्के। यही कथालाई लिएर जात्रा मनाउन थालिएको उनको भनाइ छ।

प्रकाशित: २ आश्विन २०७८ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App