१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बाँकेको पूर्वी राजमार्गमा पाटेबाघको विगविगी

मोटरसाईकललाई झम्टियो

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघको विगविगी बढेको छ। पाटेबाघको विगविगी बढेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन्। बाँके राष्ट्रिय निकुञ्जका बाघले आइतबार बेलुकी गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने एक भारतीय नागरिकलाई राजमार्गबाटै झम्टेर लगेको थियो। बाघले आधा शरिर खाएको अवस्थामा उनको शव करिव पाँच सय मिटर उत्तर निकुञ्ज भित्रको जंगलमा सोमबार बिहान भेटिएको थियो।

मान्छे खाएको बाघको जोडी अहिले पनि सोही क्षेत्रमा देखा परिरहेकाले आफूहरु निकै त्रासमा रहेको स्थानीयको भनाई छ। मान्छे खाएका बाघ गाउँ वरिपरी घुमिरहेको स्थानीय चन्दा लामाले बताईन्। सोही बाघले मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गमा गुडिरहेको एउटा मोटरसाईकललाई पनि झम्टेको छ।  

पुर्वबाट पश्चिमतिर गुडिरहेको मोटरसाईकललाई बाघले झम्टेको लामाले जानकारी दिईन्। तर, बाघको पन्जाले भेटाउन नसक्दा मोटरसाईकल चालक जोगिन सफल भएको उनले सुनाईन्। ‘बाघले धन्न आज पनि एक जना मोटरसाईकल चालकलाई खाएन, राजमार्गमा गुडिरहेको मोटरसाईकललाई बाघले एक्कासी झम्टियो, तर  मोटरसाईकल चालकलाई समात्न सकेन,’ उनले नागरिकसँग टेलिफोनमा भनिन्। बाघको जोडी मंगलबार गाउँ नजिक आएको लामाले बताईन्। 

स्थानीयका अनुसार दुई वटै बाघ अहिले निकुञ्ज छाडेर राजमार्गदेखी दक्षिणतर्फ गाउँ नजिकैको जंगलमा सरेका छन्। पाटेबाघ विगत चार दिनदेखि सो क्षेत्रमा घुमिरहेको छ। दुई दिनअघि मात्र गाउँमै आएर सोही बाघले स्थानीयको दुई वटा बाख्रा, गाई र बाच्छो मारेका थिए। ती बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ। बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघको जोडी सोही क्षेत्रमा रहेकाले दुई वटा हात्ती र नेपाली सेनासहितको टोलीले २४ सै घण्टा गस्ती गरिरहेको जानकारी दिए। ‘दुई वटा बाघ अहिले पनि सोही क्षेत्रमा घुमिरहेका छन्,’ उनले भने ‘मान्छेमाथी नै आक्रमण गरेपछि हामीले उसको निगरानी बढाउँदै आएका छौं, आजै राजमार्गमा मोटरसाईकल र बाघबीच जम्काभेट भएछ, धन्न अर्को घटना भएन।’ 

प्रमुख संरक्षण अधिकृत शाहसहित निकुञ्जका अधिकारीहरु अहिले सोही क्षेत्रमा पुगेका छन्। बाघको निगरानी बढाउँदै उसको गतिविधी हेरेर नियन्त्रणमा लिईने शाहले बताए। ‘यिनीहरु भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा हिडिरहेका हुन सक्छन्, वन्यजन्तुको शिकार गर्न बानी नपरेको हुँदा मान्छे र पशु चौपायालाई आक्रमण गरेको हाम्रो आशंका छ,’ उनले भने।

बाघले आक्रमण गर्न सक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन रोक नै लगाइएको र मोटरसाईकल, अटोरिक्सा लगायत साना सवारी साधनलाई समुहमा मात्र गुड्न दिइएको शाहले बताए। जिल्ला प्रशासन कार्यालय बाँकेले पनि सार्वजनिक सूचना जारी गर्दै राजमार्ग क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २९ भाद्र २०७८ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App