६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जका चोकचोकमा ट्राफिक

फाइल तस्बिर

आइतबारदेखि ट्राफिक प्रहरीले नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ। साँघुरो सडक र भीडभाड बढी हुँदा नेपालगन्जमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै आएको थियो।  

सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ। ‘समाचार प्रकाशितपछि हामी गम्भीर भएका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) राजु भण्डारीले भने, ‘जनशक्ति अभाव हुँदा नेपालगन्जका चोकहरूमा ट्राफिक प्रहरीको उपस्थिति हुन सकेको थिएन।

’नेपालगन्जमा १३ जना मात्र ट्राफिक प्रहरी भएको भन्दै उनले भने, ‘उक्त जनशक्तिले कसरी ट्राफिक व्यवस्थापन कायम गर्नु।’ समाचार प्रकाशितपछि जिल्लामा थप ट्राफिक प्रहरी व्यवस्थापन हुन थालेको उनको भनाइ छ। बाँके भरि ५३ जनाको मात्र दरबन्दी छ जो यहाँको अवस्था हेर्दा अपुग दरबन्दी हो।

‘हाम्रो डियूटी नै ट्राफिक नियमको पालना गराइ सुरक्षित यात्रा गराउनु हो,’ उनी भन्छन्। आइतबारदेखि थप ट्राफिक व्यवस्थापन कडा पारिएको छ। नेपालगन्जमा भीडभाड हुने क्षेत्रमा तीन र चार पांग्रे सवारी साधनमा रोक लगाइएको छ। बढी भीड हुने त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म (सदरलाइन) तीन र चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सदरलाइनमा उक्त सवारी साधन रोक लगाएपछि यात्रु र दुई पांग्रे सवारी साधनलाई सहज भएको छ।

 तीन र चार पांग्रे सवारी साधन गुड्दा यहाँ साँझपख जाम हुने गर्दथ्यो। उक्त सवारी साधनलाई रोक लगाएपछि सडक शान्तसँगै पैदलयात्रीलाई सुरक्षित भएको छ। यस्तो नियम केही दिनका लागि मात्र नभइ सधैं यसैगरी ट्राफिक व्यवस्थापन कडा पारिनु पर्ने स्थानीयको भनाइ छ।

आइतबार दुई दर्जन जति सवारी साधानलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पहिलाभन्दा आइतबार नेपालगन्जको ट्राफिक व्यवस्थापन कडा भएको अटो चालक विनोद राईले बताए। ‘पहिला कहिलेकसो सडकमा ट्राफिक प्रहरी भए पनि वास्ता गर्दन्थ्यो,’ उनले भने, ‘तर आइतबार त त्यस्तो देखिएन।’ आइतबार नेपालगन्जका विभिन्न चोकमा ट्राफिक प्रहरी प्रमुख भण्डारी आफैँ खटिएका थिए।

प्रकाशित: २८ भाद्र २०७८ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App