२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

संखुवासभा सामूहिक हत्या प्रकरणः नातामा नाति पर्ने आरोपित पक्राउ

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बौदमान कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो। सो घटनामा संलग्न भएको आशंकामा नाति नाता पर्ने एकजनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानपछि एकजनालाई पक्राउ गरिएको बताए। ‘अनुसन्धानमा भएको प्रगतिबारे आइतबारसम्म विस्तृत विवरण दिन्छौं,’ डिएसपी सुवेदीले शनिबार भने, ‘हत्यामा संलग्न भएको आशंकामा स्थानीय एक युवकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। घटनाका सबै प्रमाण जुटाउने काम भइरहेकाले अहिले नै पक्राउ व्यक्तिको नाम भन्न सक्दैनौं।’  

प्रहरी स्रोतले भने सामूहिक हत्यामा संलग्न भएको आरोपमा बौदमानका जेठा दाजुका नाति २५ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार बिहान पक्राउ गरिएको बताएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट लोकबहादुरकै संलग्नतामा सामूहिक हत्या भएको देखिएको छ,’ स्रोतले भन्यो, ‘उनकै संलग्नता रहेको फेलापरेका केही प्रमाणले पुष्टि गरे पनि हत्या गर्नुको मुख्य कारण खुलिसकेको छैन। अन्य २/३ जनासमेत पक्राउ परेका छन्।’ पक्राउ परेका अन्य सहयोगी भएको प्रहरीको आशंका छ। त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। प्रहरीका अनुसार घटनास्थल र लोकबहादुरको घर करिब डेढ सय मिटरको दूरीमा छ। 

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय एकाइ प्रहरी कार्यालय धरानसहित संखुवासभा प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको भेटिएको स्रोतले बतायो। रगत लागेको कपडा परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको छ। हत्यामा प्रयोग गरिएको रडसमेत फेलापरेको प्रहरीको भनाइ छ। त्यही रडले पछाडिबाट टाउकोमा प्रहार गरेर सबैको हत्या गरेको प्रहरी स्रोतले बतायो।  

हत्या गरिएका ६ जनाको शव सोमबार बिहान घर र आसपास भेटिएको थियो। घरमा रहेका ७ जनामध्ये बौदमान मात्रै जिवित भेटिएका हुन्। बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर र उनकी पत्नी ५२ वर्षीया कमला, बुहारी ३२ वर्षीया रन्जना र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमाको हत्या भएको थियो।

झापामा ८० लाख रूपैयाँमा जग्गा पास गर्ने तयारीमा रहेका बौदमानको परिवारै सखाप पार्नुको कारण पैसा लुटपाटका लागि भएको आशंका सुरुमा गरिए पनि घरभित्रै नगद रकम र गरगहना सुरक्षित फेला परेपछि यो घटना आर्थिक पाटोसँग नजोडिएको पाइएको थियो। लगभग ४ लाख ७० हजारभन्दा बढी नगद र सुन एवं चाँदीका गहना घरभित्रै भेटिएको प्रहरीले जनाएको छ।  

घटनास्थल दुर्गम र विकटमा भएकाले प्रहरी टोली पुग्न ढिला भएकाले २४ घण्टापछि अनुसन्धान सुरु भएको थियो। सोमबार बिहान शव भेटिए पनि मंगलबार बिहानबाट मात्रै अनुसन्धान थालिएको हो। प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो। मारिएकामध्ये पाँचजनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पछाडिबाट टाउकोमा हानेर हत्या गरिएको घटना र शवको प्रकृतिले देखाएको छ। हत्यामा धारिलो हतियार भने प्रयोग गरेको पाइएको छैन।  

पार्वताको शव घरभित्रै थियो। गम्बुट लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटिएको थियो। कमला र रन्जनाको शव घरनजिकको खोलामा तथा दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७८ ००:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App