४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा–बागलुङ राजमार्गमा यातायात सुचारु

पहिरोले अवरुद्ध पारेको पर्वत सदरमुकाम कुश्मा पुग्ने मुल राजमार्ग । यो राजमार्ग शुक्रबार बेलुकीदेखि एकतर्फी संचालनमा आएको छ । तस्बिरः नागरिक

भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो । शुक्रबार बेलुकीदेखि राजमार्ग सुचारु भएको मध्यपहाडी आयोजनाले बताएको छ ।  

मध्यपहाडी आयोजनाका इन्जिनियर उज्ज्वल शर्माका अनुसार शुक्रबार बेलुकीदेखि मात्र सडक एकतर्फी संचालनमा आएको हो । शर्माका अनुसार पातीचौरदेखि सदरकमुकाम कुश्मासम्मको आठकिलोमिटर दूरीभित्र २० ठाउँमा पहिरो झरेको थियो । ती मध्ये केही खण्ड त पुरै बगेको थियो । ‘अनुमान नगरेको ठाउँमा यो पटक पहिरोले क्षति गरेको छ । अहिलेका लागि एकतर्फी सडक खुलेको छ,’ शर्माले भने ।  

शर्माका अनुसार रोकिएको मध्ये कतिपय ठाउँमा त दोहोरो सवारी पनि संचालन हुन्छन । ‘सडकमा माथिबाट झरेको पहिरो हटाउने, बढेमानका ढुंगा फुटाउने र तलैदेखि उठाएर भएपनि राजमार्ग संचालनमा ल्याएका छौ,’ उनले भने । वर्षा भएमा अझै पनि पहिरो झर्न सक्ने जोखिम भने त्यही ठाउँमा रहेको उनले सुनाए । ‘हामीले अनुमान गरे भन्दा फरक ठाउँमा र भीषण आकारमा पहिरो झरेको छ । त्यसैले पानी परेमा अझै पनि पहिरो झर्ने जोखिम भने छ,’ उनले भने ।  

सडक खुलाउन सबैभन्दा सकस पातीचौरको झयाप्लेखोलाको पहिरोमा परेको थियो । झ्याप्लेखोलामा पहिरोसँगै बगेर आएको बढेमानको ढुंगा फुटाउन निकै नै सकस परेको उनले बताए । ‘बढेमानको ढुंगा आएर सडकमा अडियो । ब्रेकर लगाएर फुटाउँदा कम्तिमा १० दिन लाग्थ्यो,’ उनले भने, ‘त्यो ढुंगा नहटाई राजमार्ग खुलाउन सकिने अवस्था नभएपछि विस्फोटक पदार्थ प्रयोग गरेर सडक खुलायौं । ढुंगा विस्फोट गराउन पनि तीनदिन समय लाग्यो ।’  

पर्वतमा पहिरोले क्षति गर्दा सडकसँगै विद्युत र संचार पनि अवरुद्ध भएका थिए । त्यसबाहेक सवारी नचल्दा धवलागिरी अञ्चलका चारवटा जिल्ला (पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ) मा पेट्रोलियम पदार्थ अभाव हु्ने अवस्था आएको थियो । अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा अघिल्लो विहीबारदेखि धवलागिरी अञ्चलका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) सँगको यातायात सम्पर्क टुटेको थियो । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको थियो । धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो ।  

प्रकाशित: २५ भाद्र २०७८ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App