१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनाङमा पहरो फुटाएर गाडी उकाल्ने प्रयास

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ को भ्रताङ भीरको चट्टान फुटाएर सडक पहूँच बिस्तार गरिँदै । असार पहिलो साताको वर्षापछि मनाङ सडक सञ्जालबाट बिच्छेद छ । तस्बिरः नागरिक

असार पहिलो साताको बाढीले हिमालपारिको जिल्ला मनाङ जोड्ने मुख्य सडक क्षतिवक्षत पा¥यो । मनाङ प्रवेशद्वारमा मात्र नभई माथिल्लो भेगसम्म पनि सडक क्षतविक्षत हुँदा स्थानीयलाई सकस छ । निकै कठिनका साथ अहिले त्यहाँ सडकको पहिरो हटाउँदै र पहरो फुटाउँदै सवारी उकाल्ने प्रयास भईरहेको छ ।

पहिरोले यतिसम्मको क्षति पु¥याएको छ की पहरोको कठिन र चिप्लो चट्टान बाहेक बगाउन बाँकी केही राखेको थिएन । अहिले त्यही कठिन चट्टानलाई विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै मोटर गुडाउने प्रयास भईरहेको छ । सदरमुकाम चामे र माथिल्लो मनाङबीचमा पर्छ भ्राताङको भीर । मनाङ ङिस्याङ गाउँपालिका–१ को भ्रताङ भीरको चट्टान फुटाएर अहिले चामे माथिको बाटो खुलाउने प्रयास भईरहेको छ ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार भ्राताङको चट्टाने भीर खोपेर गाडी गुडाउन सहज छैन । बादर पनि अडिन नसक्ने अप्ठेरो र चिप्लो ढुंगाको पहरोलाई अहिले विस्फोटक पदार्थबाट विस्फोट गराएर सडक खुलाउने प्रयास भईरहेको छ । उनका अनुसार भ्राताङको पहरो नफुटाएसम्म माथिल्लो मनाङसम्म गाडी उकाल्न सकिन्न । किनकी त्यहाँ वैकिल्पक सडक बिस्तारको ठाउँ पनि छैन । 

‘पहरो फुटाउनुको विकल्प नै छैन । भ्राताङको झन्डै ३० मिटर दूरीको चट्टान फुटाउन अहिलेसम्म तीनपटक बिस्फोट गराईसकियो,’ लामिछानेले भने, ‘अझै विस्फोट गराउन जरुरी छ ।’ उनका अनुसार पहरो विस्फोट गराउनै पनि सकस छ । मस्र्याङदीले यतिसम्म कटान गरेको थियो की माटो कतै देख्न सकिन्न । भीर पनि चिप्लेढुंगोको छ । ‘निकै नै सकसपूर्ण तरिकाले काम भइरहेको छ । सकेसम्म दसैंअघिसम्म गाडी उकाल्ने प्रयास हो । तर, उत्ति सहज भने छैन,’ उनले भने ।  

भ्राताङको चट्टाने भीर बाहेक तलेखुमा झन्डै चारकिलोमिटर सडकमा नयाँ रुट कायम गर्नुपर्ने अवस्था छ । सडक नै रि–रुट गर्नुपरेको उनले बताए । तलेखुमा ४ किलोमिटर रि–रुट गर्नेपर्नेमा अहिलेसम्म झन्डै २ किलोमिटर सडक नयाँ बनाइएको छ । पैदल हिड्ने बाटोलाई मोटर गुड्ने बनाइएको छ । ‘तलेखुमा झन्डै २ किमि सडक बनिसकेको छ । तलेखुमा पनि कटान भएको हो । ३–४ सय मिटरको हिसाबले खोलाले करिब चारकिलोमिटर दुरीमा ठाउँठाउँमा कटान गरेको थियो । तलेखु र भ्राताङमा सडक खुलेपछि माथिल्लो मनाङ र सदरमुकाम चामे मोटरबाटोले जोडिने उनले बताए ।  

सदरमुकाम चामेभन्दा माथि मात्र नभई तल्लो भेगमा पनि सडक खुलाउन उत्तिकै अप्ठेरो छ । चामे भन्दा तल खोत्रोपाखा र दानाक्यूसम्मको बाटो अहिले मर्मतसम्भारको लागि ठेक्का दिइएको छ । त्यहाँ सडक खुलाउने प्रयास भईरहेको छ । ‘दसैंसम्म खुलाउन मुस्किल छ, तर प्रयास भने जारी रहन्छन,’ उनले भने । प्रजिअ लामिछानेका अनुसार सडक खुलाउने ठेक्का लिएको ठेकेदारले समेत अझै पर्याप्त उपकरण पु¥याउन सकेको छैन । त्यहाँ समेत बिस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था भएपनि बस्ती नजिक भएकोले विस्फोटक पदार्थ प्रयोग गर्न सकिएको छैन  

उनका अनुसार खोत्रोपाखा–दानाक्यू १० किलोमिटर सडक हो । सदरमुकामसम्म गाडी उकाल्न सबैभन्दा चूनौतीपूर्ण खण्ड नै यही हो । त्यहाँ सडकमै एउटा बढेमानको ढुंगो पनि झरेको छ । ढुंगा हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था रहेपनि बस्ती नजिक भएकोले सहज छैन । बस्ती जोगाउनका लागि भएपनि विस्फोटको साटो त्यहाँ ब्रेकर मेसिन प्रयोग गर्ने तयारी छ । ‘खोत्रोपाखासम्म स्काभेटर गएको छ । तर, अझै कामले गति लिन सकेको छैन,’ उनले भने । खोत्रोमा विस्फोटको काम बाहेक सडकको तलैदेखि पर्खाल लगाएर उठाउनुपर्ने छ । त्यस्तै धारापानीमा पनि तलैदेखि पर्खाल उठाउनुपर्छ ।  

खोत्रोपाखामा खोलाको किनारदेखि १० देखि २० मिटर उचाईको १५० मिटर लामो पर्खाल बनाउनुपर्छ र बल्ल ट्रयाक खुल्छ । त्यस्तै धारापानीमा पनि उस्तै समस्या छ । धारापानीमा १ सय मिटर सडक पुरै कटान छ । त्यहाँ पनि खोलाको किनारदेखि १५ मिटर उचाईको पर्खाल बनाउनुपर्छ । लम्जुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो । यो सडक पूर्ण रुपमा अवरुद्ध भएका तीन महिना कटिसकेको छ । जेठ मध्यको पहिरोले मनाङसँगको सडक सम्पर्क विच्छेद भएको थियो । असार पहिलो साताको बाढीले झनै क्षति गर्दा मनाङ झनै टाढिएको हो ।  

असारको बाढीले बगाउँदा सडक मात्र क्षतविक्षत नभई भएका पुल पुलेसा पनि बगेका थिए । मोटरेवल बेलिब्रिज सहित काठेपुल बगेको र मस्र्याङदी नदीको कटानले कतिपय खण्डमा त पैदल हिडडुल पनि सहज छैन । सडक पूर्ण रुपमा अवरुद्ध भएर सवारी चल्न नपाउँदा मनाङमा अहिले हेलिकप्टरको भरमा मात्र खाद्यान्न र दैनिक उपभोग्य बस्तु आपूर्ति भईरहेको छ । हेलिकप्टरको महंगो भाडा तिरेको भरमा अहिले उपभोग्य बस्तु ढुवानी गर्दा स्थानीयलाई सास्ती छ ।  

प्रकाशित: २३ भाद्र २०७८ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App