९ कार्तिक २०७८ मंगलबार
समाज

'बा' पर्व र गोकर्णेश्वर धाम

एक मात्रै ब्यञ्जनवर्णको ‘बा’ शब्द आफैमा पूर्ण छ। बा जो जन्मदाता, अन्नदाता, जीवनदाता र समग्ररुपमा हाम्रा सृष्टिकर्ता हुन्। बा पहिलो गुरु, संरक्षक, मार्गनिर्देशक र भरोसा। बा घर, भर र डर पनि। यदी बा हुँदैनथे भने के हुन्थ्यो होला?

आज ‘बा’पर्व अर्थात कुशे औंसी। प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन कुशे औंसीसँगै बा पर्व मनाइन्छ। आजका दिन दुईवटा पर्वसँगै मनाइन्छ। कुशेऔंसी र बुबाको मुख हेर्ने पर्व अर्थात् ‘बा’ पर्व। 

वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक वनस्पती हो। हिन्दु धर्मावलम्बीले वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गर्नेे कुश यसै तिथिमा घर घरमा भित्र्याउने चलन छ। यो दिन कुश घरभित्र राख्दा घर पवित्र हुने शास्त्रीय मान्यता रहेको गोेकर्णेश्वरधाम गदाधर नारायणका मुख्य पुजारी ईश्वर पाण्डेयको भनाई छ।

‘कुश विष्णुको स्वरुप हो र प्रत्यक कर्मको साँचीको रुपमा हामीले लिने गर्छौं। धार्मिक प्रेत, पितृ जुनसुकै कर्म पनि कुश नभइकन पूरा हुँदैन,’ पाण्डेयले भने, ‘कुश उखेल्ने र एक वर्षका लागि जगेडा गर्ने काम कुशे औँसीमा गर्छौं।’

गोकर्णेश्वरधाम गदाधर नारायणका मुख्य पुजारी पाण्डेय भन्छन्, ‘दिवङगत बुबाहरु वा जसको बुबा हुनुहुन्न तिनले त्यो दिन यहाँ स्नान गरेर पितृ दर्शन गर्ने धार्मिक परम्परा रहेको छ।’   

नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधिहरु पनि बनाइन्छ। विष्णु भगवान्को प्रतिकका रुपमा लिइने कुशको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ। कुशले वातावरणमा भएका नकारात्मक तरङ्ग र विकीरणहरुलाई आफूमा सोस्ने गरेकाे पाण्डेयको बुझाइ छ। कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो। त्यसैले पनि धार्मिक अनुष्ठानका समयमा हातमा कुशको औंठी लगाउनुका साथै घर घरमा कुश राख्ने गरिन्छ।  

कुशे औंसीपछि हिन्दु धर्मावलम्बीको ठूला चाँड पर्वहरु सुरु हुने गर्छन्। हरितालिका तिजदेखि सोह्र श्राद्ध दसै तिहार लगायतका चाँडपर्व कुशेऔसी पश्चात नै पर्ने गर्दछन्।  

कुशे औंसीमा अर्को ठूलो पर्व भनेको बुबाको मुख हेर्ने दिनको रुपमा लिइन्छ। गोकर्णेश्वरमा त्यसको फरक महत्व छ। गोकर्णेश्वरलाई पितृपितामोह तिर्थका रुपमा पनि लिइन्छ। ‘यो पितृक्षेत्र धामको रुपमा परिचित छ। राजा नारायण स्वयं विराजमान हुनुहुन्छ महादेव स्वयं यहाँ हुनुहुन्छ, यो एउटा उत्तरगया पितृमोक्ष धामको रुपमा रहेको छ।’  

गोकर्णेश्वरधाम गदाधर नारायणका मुख्य पुजारी पाण्डेय भन्छन्, ‘दिवङगत बुबाहरु वा जसको बुबा हुनुहुन्न तिनले त्यो दिन यहाँ स्नान गरेर पितृ दर्शन गर्ने धार्मिक परम्परा रहेको छ।’ बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बी दुबै धार्मिक समुदायले गोकर्णेश्वरमा आएर यो पर्व मनाउने गरेको पुजारीको भनाइ छ।  

पर्व मनाउने तरिका  

प्रत्यक कर्मको थालनी पहिलो गुरु वा पहिलो व्यक्ति, देवता जे भने पनि हाम्रो पितृ नै हुन्। यसै दिनदेखि हाम्रो धार्मिक एवं मंगल कार्य सुरु हुन्छ। यसै दिन बुबालाई विशेष सम्मान अर्पण गर्दै बुबाको मुख हेर्ने पर्व पनि मनाइन्छ। मुख्य पुजारी पाण्डेय भन्छन्, ‘आर्थिक वर्ष सुरु भएको भनिए जस्तै धार्मिक कार्यको सुरुवात हुन्छ। भाद्र कृष्ण औंसीमा सुरु भएर वैशाख महिनामा गएर आमालाई सम्झेर (मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन) एक चरण/वर्षको धार्मिक पर्व सकिन्छ।’  

हिन्दु धर्ममा पितृ र बुबाप्रति गर्ने सेवा सत्कार वर्ष भरि नै रहन्छ। तर पनि आजको यस विशेष दिनमा सन्तानले आफ्ना बुबाको दिन भनेर खुसीयाली साटासाट गर्छन्। यस दिन पिताको भौतिक उपस्थितीमा छोराछोरीले मुख हेरेर बुबालाई मन पर्ने परिकार तथा मिठाई, फलफूल, कपडा आदि उपहार दिने गर्दछन्।  

यसैगरि, भौतिक रूपमा अस्त भइसकेका पितृलाई छोराछोरीहरूले विभिन्न शक्तिपीठ, देवालयमा गएर तर्पण, सिदा दान र श्राद्ध तर्पण पिण्ड दान आदि गरेर पर्व मनाउने मुख्य पुजारी पाण्डेयले बताए।

गोकर्णेश्वरमा नै आएर किन सम्झने त पितृलाई? 

पाण्डेय भन्छन्, ‘गोकर्णेश्वर बह्माजीले स्थापित गरेको धाम हो र स्वयं गजाधर नारायण विराजमान भएको कारणले बह्मपितामह भनेको बह्मजी पिताको कारणले जोडिनुभयो। पितृतिर्थ भनेको गजाधर नारायण विराजमान हुनुभयो। यसलाई उत्तरी भेगको सबैभन्दा ठूलो तिर्थको रुपमा लिइन्छ।’ 

 ‘हिजोका दिनमा दुईचार जनाले कूप्रचार गरेको हामीले सुन्ने गरेका थियाैं। समग्र कुरालाई हेर्ने हो भने सबै जनाले के बुझ्नु पर्‍यो भने जहाँ स्वयं गजाधर नारायण विराजमान हुनुहुन्छ, यो क्षेत्र नै पितृतिर्थ हो भन्ने कुरालाई सबैले बुझिदिनुपर्‍यो।’ 

उनी भन्छन्, ‘यो ठाउँ भनेकै बुबाकै कर्म गर्न बनेको ठाउँ भएका कारण कुशे औसीको दिन अर्को ठाउँ जानुभएन नि, पितृ स्वरुप भनेर मानिने ठाउँ भएकाले त्यो दिन यहाँ विशेष मेला लाग्छ।’  

संस्कारमा परिवर्तन

पहिलेको तुलनामा अहिले बा पर्व मनाउने तरिकामा फरकपन आएको स्वीकार्छन् मुख्य पुजारी पाण्डे। परिवर्तन स्वभाविक भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘मनाउने तरिकामा समयको परिवर्तनसँगै केही त परिवर्तन भइहाल्छन्। पहिले खुट्टा ढोगेर बुबालाई मान्थ्यौं भने अहिले केक काटेर बा पर्व मनाउँछौ।’ तर धार्मिक दृष्टिकोणबाट हेर्दा धार्मिक क्रियाकलाप श्राद्धकाक्रममा खासै परिवर्तन छैन।  

उनी भन्छन्, ‘हामीले पद्धतिलाई मान्छौ। शास्त्रलाई मान्छौ। शास्त्र परिवर्तन हुँदैन। शास्त्रीय परिणाम उहीँ हो। गर्ने तौरतरिकामा समय अनुसारको हिजोको पहुँचले गर्दा चाँही केही हदसम्म परिवर्तन भइहाल्छ। त्यो स्वभाविक हो।’

कोभिड १९ र गोकर्णेश्वर धाम

कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर गतवर्ष गोकर्णेश्वरधाम गदाधर नारायण मन्दिर पूर्णरुपमा बन्द थियो। धाम प्रवेशका मुख्य नाकाबाटै प्रवेशमा कडाइ थियो। गतवर्ष जस्तै यो वर्ष पनि कोभिड १९ को संक्रमण दरमा कमी नभएका कारण प्रवेशमा निषेध गरिएको गोेकर्णेश्वरधाम गदाधर नारायणका मुख्य पुजारी ईश्वर पाण्डेयले जानकारी दिए।  

तिजकै अवसर पारेर बन्द गरिएको पशुपतिनाथको मन्दिर खुलेको छ। जिल्ला प्रशासनले पनि स्वास्थ्य मापदण्ड अप्नाएर खोल्न सक्ने बताएको छ। तथापी गोकर्णेश्वरधाम बन्द हुनुको कारणबारे पाण्डेय भन्छन्, ‘देशविदेशबाट एक्दमै बढी मान्छेहरु आउने भएर, स्वास्थ्य प्रोटोकल अप्नाउने अवस्था रहेको र यो गाउँमा नै संकमणको दर जोखिम भएको कारणले बन्द गर्नुपर्‍यो।’  

भूकम्पपछिको मन्दिर निर्माणको अवस्था

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पले जनधनसँगै हाम्रा धेरै सांस्कृतिक सम्पदामा निकै असर पर्‍यो। विनाशकारी भूकम्पको असर गोकर्णेश्वरधाम गदाधर नारायण मन्दिरमा पनि पर्‍यो। मन्दिरसँगै वरपरका अन्य भौतिक संरचना पनि भूकम्पको सिकार हुन पुगे।  

तत्पश्चात् पुनः निर्माण थालिएको मन्दिरको अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। भूकम्प गएको ६ वर्ष भइसक्दा पनि मन्दिरको पूर्णरुपमा पुनः निर्माण भइसकेको छैन। कोभिड १९ र अन्य कारणले पनि केही मात्रा ढिलाई भएको पुजारी पाण्डेयको भनाइ छ। उनी भन्छन्, ‘लगभग पुनः निर्माणको सबै काम सक्यौ, मन्दिरको पश्चिमको एउटा छाना मात्रै बनाउन बाँकी रहेको छ। अबको २/४ महिनामा सम्पन्न गर्छौ।’  

समस्या तथा चुनौति

ऐतिहासी, पुरातात्वक, धार्मिक आस्था र विश्वासको केन्द्र रहेको सम्पदा क्षेत्र भएपनि यो क्षेत्रको प्रचार प्रसारको निकै कमी रहेको छ। सहि मान्छेले सहि कुरा नगर्नाले यसको पवित्रतामा सर्वमान्य तिर्थस्थल ओझेलमा पर्न गएको पाण्डेय दुखेसो पोख्छन्। तर पनि आफूसँगै केही मानिसको पहलमा विकाश निर्माण लगायका काम गर्दै आएको उनले बताए। ‘हिजोका दिनमा एक्दमै ओझेलमै थियो। अहिले हामीले त्यसमा लागेपछि विकाश निर्माण लगायतका काममा केही हदसम्म परिवर्तन भएको छ।’

गोकर्ण उत्तरगयाको नामबाट अन्य विभिन्न ठाउँमा नामलिएर प्रचारबाजी भइरहेकाले पनि यो क्षेत्र केही मात्रामा ओझेलमा परेको उनको बुझाइ छ। ‘हिजोका दिनमा दुईचार जनाले कूप्रचार गरेको हामीले सुन्ने गरेका थियाैं। समग्र कुरालाई हेर्ने हो भने सबै जनाले के बुझ्नु पर्‍यो भने जहाँ स्वयं गजाधर नारायण विराजमान हुनुहुन्छ, यो क्षेत्र नै पितृतिर्थ हो भन्ने कुरालाई सबैले बुझिदिनुपर्‍यो।’

प्रकाशित: २२ भाद्र २०७८ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App