७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरा–बागलुङ सडक खुलाउनै सकस

पहिरोले अवरुद्ध पारेको पोखरा–बागलुङको पर्वत खण्डमा जोखिमपूर्ण तरिकाले पहिरो पार गर्दै स्थानीय । तस्बिर सौजन्यः अशोक पौडेल

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत  पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ । केही खण्डमा एकतर्फी रुपमा सवारी संचालन गर्न मिल्ने गरि सडकमा थुप्रिएको ढुंगामुढा हटाईसकेपनि सबै खण्डमा गाडी चल्न सक्ने अवस्था छैन ।  

राजमार्गमा गाडी गुड्न अझै केहीदिन लाग्ने सडकका प्राविधिकको भनाई छ । विहीबार रातीको भीषण वर्षापछिको पहिरोले घर बगाउँदा पवर्तमै ११ जनाको ज्यान पनि गएको थियो । मध्यपहाडी आयोजनाका इन्जिनियर उज्जवल शर्माका अनुसार पातीचौरदेखि सदरकमुकाम कुश्मासम्मको आठकिलोमिटर दूरीभित्र २० ठाउँमा पहिरो झरेका छन । ती मध्ये केही खण्ड त पुरै बगेको छ । सडकमा माथिबाट झरेको पहिरो थुप्रिने र बग्ने मात्र नभई बढेमानका ढुंगा झर्दा सडक खुलाउन झनै सकस भएको उनले बताए ।  

‘सडक खुलाउन सहज छैन र तत्कालै खुल्ने अवस्था पनि छैन, सक्दो प्रयास भईरहेको छ,’ शर्माले भने, ‘एकतर्फी खुल्न पनि अझै केहीदिन लाग्ने देखिएको छ ।’ उनका अनुसार अहिले सडक खुलाउन विभिन्न ठाउँमा ६ वटा उपकरण परिचालन गरिएको छ । कुश्मादेखि दोबिल्लासम्मको करिब चारकिलोमिटर खण्डमा एकतर्फी रुपमा सफा गरेको भएपनि जटिल खण्डसम्म पुग्नै सकिएको छैन । सडक खुलाउन सबैभन्दा सकस पातीचौरको झयाप्लेखोलाको पहिरोमा छ । झ्याप्लेखोलामा पहिरोसँगै बगेर आएको बढेमानको ढुंगा फुटाउन निकै नै सकस रहेको उनले बताए ।  

‘बढेमानको ढुंगा आएर सडकमा अडिएको छ । ब्रेकर लगाएर फुटाउँदा कम्तिमा १० दिन लाग्छ,’ उनले भने, ‘त्यो ढुंगा नहटाई राजमार्ग खुलाउन सकिन्न ।’ ब्रेकर लगाएर ढुंगा फुटाउने हो भने सडक खुलाउन धेरै दिन लाग्ने भएपनि विष्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाउने तयारी भएको छ । त्यसका लागि म्याग्दीबाट विष्फोटक पदार्थ ल्याइएको छ । स्थानीय प्रशासनको सहयोगमा विष्फोटक पदार्थ ल्याएको उनले बताए ।

‘ढुंगा फुटाउन ब्लास्टिङ नगरी सुखै छैन । ब्रेकरको भरमा गर्दा झनै ढिला हुन्छ,’ उनले भने । मंगलबारसम्म ढुंगा फुटाउन सकियो भने बुधबारदेखि एकतर्फी भएपनि सडक खुलाउन सकिने उनको विश्वास छ । त्यसबाहेक दोबिल्लामा करिब एकसय मिटर सडक पुरै बगेको भएपनि एकतर्फी सवारी चलाउन सकिने गरि बनाउन सकिने उनले बताए । ‘एकसय मिटरजति त तलैदेखि उठाउनुपर्छ । तर, अहिले एकतर्फी सवारी चलाउन भने मर्मतसम्भारको भरमा चल्छ,’ शर्माले भने ।

पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले राजमार्ग खुलाउन भरमग्दुर प्रयास गरिरहेको बताईन । उनका अनुसार अहिले सडक खुलाउन गह्रौ उपकरण प्रयोग गरिएका छन । ‘कम्तिमा २० ठाउँमा पहिरो झरेको छ । सडक नै पुरै बगेको छ । बढेमानका ढुंगा सडकमा खसेर अपरोध पु¥याएको छ,’ खत्रीले भनिन, ‘सडकमा खसेका ढुंगा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नका लागि ड्रिल गर्ने तयारी भएको छ ।’ उनका अनुसार अव वर्षा नभई सहज भएमा दुईदिनभित्र राजमार्ग एकतर्फी रुपमा भएपनि खुल्नेछ । २० ठाउँको पहिरो हटाउन उत्ति सहज नभएको उनले बताईन ।  

पर्वतमा पहिरोले क्षति गर्दा सडकसँगै विद्युत र संचार पनि अवरोध भएकोमा अहिले विद्युत र संचार केही सहज भएको छ । त्यसबाहेक सवारी नचल्दा धवलागिरी अञ्चलका चारवटा जिल्ला (पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ) मा पेट्रोलियम पदार्थ अभाव हु्ने अवस्था आएको उनले बताईन । ग्यास र पेट्रोलियम पदार्थमा कालोबजारी हुन नदिन अनुगमन गरिरहेको उनले बताईन । स्याङजाको बाटो हुँदै आउजाउको विकल्प भएपनि ठुला सवारी गुडुन सक्ने अवस्था छैन । त्यसबाहेक पोखरासम्मको आउजाउमा पनि यात्रुले करिब तीनघण्टा लगाएर पैदलै पहिरो खण्ड पार गर्ने गरेका छन ।

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा गत विहीबारदेखि धवलागिरी अञ्चालका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) सम्मको यातायात सम्पर्क टुटेको थियो । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको छ । यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ । धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो । तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ । 

प्रकाशित: २१ भाद्र २०७८ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App